२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

विमानस्थल अध्यागमनमा खटिए ४५ फ्रेस अधिकृत

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन ५ गते सोमबार

हालै लोकसेवाको परीक्षा उत्तीर्ण गरेर तालिम लिएका ४५ जनालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खटाइएको छ । गृह मन्त्रालयले अध्यागमन सुधारका क्रममा हालै सेवा थालेका ४५ जना शाखा अधिकृतहरुलाई आज सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा खटाएको हो ।

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले सोमबारदेखि अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि घिमिरे र ४५ जना नयाँ शाखा अधिकृत विमानस्थलमा खटिएको जानकारी दिए । लोकसेवाबाट आएका अधिकृतहरुलाई विभागले तीन दिने तालिम पश्चात आजदेखि विमानस्थल अध्यागमनमा खटाएको हो ।

केहीअघि गृह मन्त्रालयले विमानस्थलमा खटिएका ४५ शाखा अधिकृतलाई मन्त्रालय तानेको थियो । त्यसको बदलामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले पठाएको विवरण अनुसार ४५ अधिकृतलाई खटाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

विमानस्थल अध्यागमनमा खटिएका कर्मचारीकै मिलेमतोमा भिजिट भिसाका नाममा मानव तस्करी भएको भन्दै ७ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थलमा छापा मारेको थियो । त्यसबेला तत्कालीन अध्यागमन प्रमुख तीर्थराज भट्टराई समेत पक्राउ परेका थिए । अझै त्यो मामिलामा आयोगले छानबिन गरिरहेको छ ।

प्रकाशित मिति : २०८२ साउन ५ गते सोमबार