देशमा विभिन्न स्थानमा भारी वर्षा भएको छ । जसका कारण नदीहरूमा जल सतह बढेको छ भने बाढी पहिरोमा जोखिम पनि बढेको छ । इलामको कनकाई र मैनाचुली जल मापन केन्द्रमा नदीको जल सतह सतर्कता तहको आसपासमा पुगेको छ ।
चिसापानीस्थित जलमापन केन्द्रमा माईखोला सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । इलाममै देउमाई खोलामा पनि बाढी आएको छ । त्यहाँ पनि सतर्क रहन आग्रह गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले आइतबार बिहान एक सूचना जारी गर्दै जल सतह अझै बढ्दो क्रममा रहेकाले सतर्क रहन आग्रह गरेको छ । विभागका अनुसार नदी तटीय क्षेत्रहरू तथा डुबान भइरहने होचो भूभागमा दिउँसोसम्म विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यस्तै झापामा कन्काई नदीमा आइतबार बिहान बाढी आएको छ । मैनाचुली जलमापन केन्द्रमा कन्काईको जलसतह सतर्कता तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यता कास्कीमा आइतबार बिहान भारी वर्षा भएको छ ।
लुम्ले र आसपास क्षेत्रमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यहाँ थप वर्षाको सम्भावना छ । बाढीपहिरोको जोखिम हुन सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । यसैगरी सुनसरीमा बुढीखोलामा आइतबार बिहान बाढी आएको छ ।
दुहबी जलमापन केन्द्रमा बुढीखोलाको सतह खतरा तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । यस्तै पर्वतमा मोदीखोलामा बाढी आएको छ ।
वर्षासँगै मोदीखोलाको सतह सतर्कता तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । खोलाको सतह बढ्दो क्रममा छ । तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
सत्यपाटी