२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

देशभर बदली, केही भूभागमा धेरै भारी बर्षा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन ४ गते आइतबार

देशका केही स्थानमा आज (साउन ४) ‘धेरै भारी’ वर्षाको सम्भावना छ । कतिपय स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली (बादल र वर्षा) रहने महाशाखाको पूर्वानुमान छ ।

कोसी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेश लगायत पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी भूभागका पनि केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

‘कोसी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ,’ महाशाखाले भनेको छ, ‘देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।’

आज राति पनि देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका पनि केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

‘गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ,’ महाशाखाद्वारा आइतबार बिहान जारी बुलेटिनमा उल्लेख छ, ‘देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।’

कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकोले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम हुने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तर (नेपाल नजिक)तिर रहेको महाशाखाले जनाएको छ । शनिबार (साउन ३) राति र आइतबार बिहान देशका केही स्थानमा भारी वर्षा भएको छ । कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ ।

२४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ । कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे हल्का वर्षा भनिने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८२ साउन ४ गते आइतबार