२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

बाँकेमा रोपाइँ सुस्त, २७ प्रतिशत खेत बाँँझै

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ साउन ३ गते शनिबार

धान उत्पादनका लागि निकै उर्वर मानिने बाँके जिल्लामा साउनको पहिलो साता पुग्दासम्म पनि अझै २७ प्रतिशत खेत बाँझै छ । समयमा वर्षा नहुँदा रोपाइँ सुस्त गतिमा भइरहेको छ । जिल्लामा हालसम्म ७३.५ प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

केन्द्रका अनुसार प्रयाप्त वर्षा नभएकाले मोटरबाट पानी तानेर, अन्य बोरिङमार्फत तथा सिक्टा सिँचाइ आयोजनाको नहर लगायतका माध्यमबाट बढी रोपाइँ गरिएको छ । साउनको पहिलो सातासम्म रोपाइँ सम्पन्न भइसक्नुपर्नेमा समयमा वर्षा नहुँदा हालसम्म ७३ प्रतिशत रोपाइँ भएको र अझै पनि २७ प्रतिशत खेत बाँझै रहेको जनाइएको छ ।

कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्राविधिक अधिकृत खडक बस्नेतले गतसाता निरन्तर वर्षा भएको भए हालसम्म रोपाइँ करिब सम्पन्न हुने अनुमान गरिए पनि वर्षा कम हुँदा रोपाइँ पनि सुस्त गतिमा भएको बताए । हालसम्म जिल्लामा भएको रोपाइँ सिक्टा सिँचाइ आयोजनाको नहर र शाखा नहर वरिपरि तथा अन्य विभिन्न कुलो र सिचाइँ सुविधा भएको क्षेत्रहरुमा बढी भएको छ ।

कृषि प्राविधिक अधिकृत बस्नेतका अनुसार पानीको अभावले असार १५ सम्म ११ प्रतिशत मात्र रोपाइँ भएको बाँकेमा त्यसयता केही दिन वर्षा भएपछि क्रमशः रोपाइँ हुँदै गएर हाल ७३ प्रतिशत पुगेको हो । उनका अनुसार सिक्टा सिँचाइ आयोजनाका कारण राप्ती सोनारी, कोहलपुर र बैजनाथमा रोपाइँ सबैभन्दा बढी भएको छ । सबैभन्दा कम रोपाइँ जानकी गाउँपालिकामा भएको छ ।

कृषि ज्ञान केन्द्र बाँकेले बाँकेका अधिकांश क्षेहरुमा अझै पनि आकाशे पानीकै भरमा धान खेती गर्नुपर्ने बाध्यता रहेकाले रोपाइँ गर्ने कार्य वर्षामा निर्भर रहने गरेको जनाएको छ । बाँकेमा धान रोपाइँ हुने कूल ३६ हजार ५०० हेक्टर खेतीयोग्य जग्गा छ । गत वर्ष पनि सोही क्षेत्रफल खेतमा धानखेती गरिएको थियो । अहिले पनि सोही क्षेत्रफलमा धानखेतीका लागि रोपाइँ भइरहेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २०८२ साउन ३ गते शनिबार