प्रहरी संयन्त्रको चरम लापरबाही उदाङ्गो पार्ने एक लज्जास्पद घटनामा, ठगी र चोरी जस्ता गम्भीर अपराधमा संलग्न एक व्यक्ति प्रहरीकै सरकारी मोटरसाइकल चढेर आफूलाई ‘डीएसपी’ बताउँदै हिँडिरहेको अवस्थामा पक्राउ परेका छन् । यो घटनाले सुरक्षा निकायको कार्यशैली र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ ।
सुनसरीको रामधुनीस्थित झुम्का बजारमा प्रहरीको आधिकारिक मोटरसाइकलमा सवार बराहक्षेत्रका सुवास पौडेललाई स्थानीयले नियन्त्रणमा लिएका हुन् । आफूलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) बताउँदै शंकास्पद गतिविधि गरेपछि स्थानीयले उनलाई प्रहरीको जिम्मा लगाएका थिए ।
प्रहरी अनुसन्धानमा पौडेल आपराधिक पृष्ठभूमि भएका व्यक्ति भएको र उनले लामो समयदेखि नक्कली प्रहरी अधिकारी बनेर ठगी गर्दै आएको खुलेको छ । उनी यसअघि पनि पटक–पटक ठगी र चोरीका आरोपमा पक्राउ परिसकेका थिए । एक प्रहरी जवान बजारमा गएको मौकामा पौडेलले मोटरसाइकल लिएर गएको प्रहरीको प्रारम्भिक भनाइ छ ।
यद्यपि, एक अपराधीको पहुँचमा प्रहरीको साधन कसरी पुग्यो भन्ने विषयले प्रहरीभित्रको अनुशासनहीनता र सम्भावित साँठगाँठको आशंकालाई बल दिएको छ । पौडेललाई हाल अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ भने घटनामा संलग्न प्रहरी कर्मचारीमाथि पनि छानबिन हुने बताइएको छ ।
सत्यपाटी