तीज माहोलले जब बजार तात्न थाल्छ, तब लोकप्रिय गायिका सुनिता दुलाल मिडिया र स्टेजहरूमा झन् बढी छाउँछिन् । कारण के भने तीजकै गीतबाट स्थापित भएकी हुन् उनी । सुनिताले हरेक वर्ष मौलिक तीजका गीतहरू सार्वजनिक गर्छिन् र देश विदेशका कार्यक्रममा व्यस्त पनि हुन्छिन् ।
यसपटक प्रेमराजा महतको शब्द सङ्गीतमा ‘अहिलेको तीजैमा’ बोलको गीत दर्शक श्रोतामाझ ल्याइसकेकी छिन् उनले । यसपटकको तीजमा उनी जापानको विभिन्न सहरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुनेछिन् । साङ्गीतिक क्षेत्रमा झन्डै दुई दशक बिताइसकेकी सुनिताले तीनसय बढी गीत गाइसकेकी छन्, जसमा डेढ सय जति त तीजका गीत छन् ।
यतिखेर साङ्गीतिक यात्राका क्रममा युरोप हुँदै बेलायत आएकी गायिका सुनिताले अब बिहे गर्ने बेला आएको र आफू पनि तयार रहेको बताएकी छन् । साङ्गीतिक करियरलाई प्राथमिकतामा राख्दा बिहे गर्न केही ढिलाइ भएपनि आफ्नो लागि बल्ल बिहे गर्ने उपयुक्त समय आएको गायिका सुनिताले बताउँछिन् ।
‘हरेक कुराको उचित समय आउनुपर्छ, आफ्नो करियरतर्फ बढी फोकस भएकाले बिहे गर्ने कुरालाई यसअघि खासै प्राथमिकता दिइन,’ उनले बताइन् । गीत सङ्गीतकै कारण आफू अहिले यो स्थानमा रहेको बताउँदै यदि पहिला नै बिहे गरेको भए सायद यो सम्भव नहुने उनको भनाइ छ ।

‘छोटो समयमा दर्शक श्रोताको धेरै माया पाउने भाग्यमानी कलाकारको रूपमा म आफूलाई ठान्छु, सङ्गीत सम्बन्धी अध्ययन गरेर आफ्नै फिल्ड सङ्गीतकै क्षेत्रमा आफूलाई चिनाउन पाउँदा म पूर्ण रूपमा सन्तुष्ट छु,’ उनले भनिन् ।
‘मायालुले झल्को दिइरहने’ बोलको पहिलो गीतबाट साङ्गीतिक यात्रा सुरु गरेकी सुनितालाई ‘आमाले पकाएको मिठो दर खानलाई’, बोलको तीज गीतले साङ्गीतिक धरातलमा सुनिता दुलालको रूपमा स्थापित गरायो । त्यसपछि अर्को तीज गीत ‘अब त मैले नि झुम्का लगाउँछु’ बोलको गीतले त उनलाई कहिले पनि पछाडि फर्किनुपरेन ।
विदेशमा बस्ने नेपालीहरूकै कारण नेपाली कलाकारहरूको भविष्य पनि जोडिएको उनको बुझाइ छ । नेपालमा हुने केही मेला महोत्सवबाहेक कलाकारहरूको प्रमुख गन्तव्य विदेशमा आयोजना गरिने विभिन्न कार्यक्रम रहेको उनले बताइन् । पछिल्लो समय डिजिटल प्लेटफर्मका कारण आर्थिक रूपमा थप सहज भएको उनको अनुभव छ ।
देश विदेश र मेला महोत्सवमा निकै व्यस्त रहँदै आएकी सुनिताले आर्थिक पाटो पनि सन्तोषजनक नै रहेको बताउँछिन् । विदेशमा जन्मे हुर्केका बालबालिकालाई नेपाली भाषा सिकाउन उनको अनुरोध छ । विदेशमा रहे पनि नेपाललाई निरन्तर माया गरिराख्न र भावी पुस्तालाई पनि नेपालसँग जोडिराख्न उनले विदेशमा बस्ने सम्पूर्ण नेपालीलाई आग्रह गरेकी छन् ।
आफूलाई गलाले साथ दिइन्जेल यही साङ्गीतिक क्षेत्रमा लागिरहने उनले सुनाइन् । ‘परिवार र गीत सङ्गीतलाई म्यानेज गरेर निरन्तर अघि बढ्छु, जबसम्म दर्शक श्रोताको माया पाउँछु, तबसम्म यस क्षेत्रमा लागिरहन्छु,’ उनको अठोट छ ।
सत्यपाटी