नेपालगन्ज उपमहानगरपालिकालाई यहि आर्थिक बर्षभित्र बालमैत्री पालिका घोषणा गर्ने अभियान अन्तरगत बालश्रम रोक्नको लागि निगरानी बढाइएको छ । जसअन्तरगत नेपालगन्जको घरबारी टोलबाट तीन जना बालकलाई उद्धार गर्नको लागि चेतावनीसहित प्रक्रियामा आउन अनुरोध गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख तथा बालश्रमविरुद्धको स्थानिय समन्वय समितिका सदस्य सचिव बालकल्याण अधिकारी पवित्रा कुमारी पुरीले नेपालगन्ज उपमहानगरपालिकाले बनाएको कार्ययोजना अनुरुप बालश्रम रोक्न गतिविधि बढाउन सुरु भएको बताइन् ।
अनुगमनमा उपमहानगरका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रतिनिधि, वडा नं.२ का प्रतिनिधि र सिविन नेपालका प्रतिनिधिसहितको टोली सहभागी थियो । टोलीले आज नेपालगन्जको धम्बोझी र घरबारी टोलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा दुई वटा मिठाई पसलमा तीन जना बालक श्रमिकका रुपमा राखिएको पाइएको छ । जसमा एक जना भारतीय र एक जना स्थानीय बालक रहेका छन् ।
अनुगमन टोलीले बालकको पारिवारीक पुर्नमिलन गरी विवरण सात दिनमा वडा कार्यालयमा बुझाउन निर्देशन दिएको छ । निर्देशन पालना नभएमा श्रम कार्यालयमा रोजगारदाता विरुद्ध श्रम कानुन, बालश्रम निषेधित तथा नियमन गर्ने ऐन २०५६ बमोजिम उजुरी प्रक्रियामा जाने तयारी रहेको जनाइएको छ ।
बालमैत्री स्थानीय शासन अबलम्बन गरेको नेपालगन्ज उपमहानगरपालिकाले बालश्रमिकहरु होटल, मिठाई पसल, दोहोरी साँझ, ग्यारेज, सार्वजनिक यातायात, रिक्सा चालकको रुपमा, फर्निचर पसल र घरेलु कामदारको रुपमा छ्याप्छ्याप्ती रहेको बताएको छ । खुलेयाम रोजगारदाताहरुबाट बालश्रम निशेधित र नियमन गर्ने ऐन २०५६ को बर्खिलापको रुपमा नेपालगन्जमा बालश्रमिकहरु भेटिएको अनुगमनमा गएको टोलीको निष्कर्ष छ ।
सत्यपाटी