२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

एयरफोन चोरीको आरोपमा हत्या, भाइ र भान्जा पक्राउ

सत्यपाटीसत्यपाटी । कैलाली । २०८२ साउन ३ गते शनिबार

कैलालीको धनगढी उपमहानगरपालिका–१४ फूलबारीमा एयरफोन चोरीको निहुँमा कुटपिट गरी एक युवकको हत्या गरेको आरोपमा प्रहरीले मृतककै भाइ र भाञ्जालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले ३५ वर्षीय गणेश गिरीको हत्या अभियोगमा उनका सहोदर भाइ ३३ वर्षीय पदम गिरी र भाञ्जा १८ वर्षीय प्रदीप बोहरा पक्राउ परेको जनाएको छ ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार असार २८ गते राति प्रदीपले आफ्नो एयरफोन चोरी भएको भन्दै गणेशमाथि कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका गणेशको ३० गते मृत्यु भएको थियो । गणेशको शव परिवारले परम्परागत तरिकाले घर नजिकै गाडेका थिए ।

बिहीबार उनको भान्जाबाटै हत्या भएको खुलेपछि कैलाली प्रहरीले गाडिएको शव उत्खनन् गरेको थियो । हत्याको मुख्य आरोपी भान्जा र सहोदर भाइ पदम मतियारको भूमिकामा संलग्न देखिएकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुलाई अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ साउन ३ गते शनिबार