भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको गुम्बा–कोट– दिप्सा–पाँचधारे सडक कालोपत्रे गुणस्तरहीन भएको जनाउँदै कोटका स्थानीयवासी चिन्तित भएका छन् । कालोपत्रे गरिएको सडक महिना दिन नपुग्दै उप्किएको तथा कालोपत्रे सडकमा घाँस उम्रिएपछि स्थानीय चितिन्त भएका हुन् ।
यहाँ कालोपत्रे गरिएको सडक महिना दिन नपुग्दै भत्किनुका साथै बिच सडकमा घाँस उम्रिएको टेम्केमैयुङ ६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए । सडक निर्माणमा गुणस्तरहीन काम भएपछि कारबाहीको माग गरिएको उनको भनाइ छ । गत असार महिनामा सडक कालोपत्रे गरिएको वडाध्यक्ष नेपालले जानकारी दिए ।
‘सडक कालोपत्रे भएको महिना दिन नपुग्दै उप्किएको छ,’ वडाध्यक्ष नेपालले भने, ‘सडक निर्माणको काममा अत्यन्तै लापरबाही भएको अवस्था छ । कालोपत्रे सडकको बीचमा घाँस उम्रिएको छ । सडक निर्माणमा गुणस्तरहीन काम भएको प्रस्ट देख्न सकिन्छ ।’
सडक डिभिजन कार्यालय तुम्लिङटार अन्तर्गत आरएनआरआर कम्पनीले असार महिनामा यहाँको शुन्य विन्दु गुम्बाबाट एक किलोमिटर सडक कालोपत्रे गरेको वडाध्यक्ष नेपालले बताए । टेम्केमैयुङका चार वटा वडासँगै खोटाङ जिल्लालाई जोड्ने सडकमा सुरुवाती चरणमै गुणस्तरहीन काम भएपछि स्थानीय आक्रोशित बनेको उनको भनाइ छ ।
कालोपत्रे गरिएको सडक छोटो समयमा ठाउँठाउँमा भत्किएको टेम्केमैयुङ–७ का वडाध्यक्ष बालबहादुर खड्काले बताए । गैर जिम्मेवार डङ्गले सडक कालोपत्रे गर्ने निकायलाई राज्यले कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । वडाध्यक्ष खड्काले सडक निर्माणमा अत्यन्तै गुणस्तरहीन काम भएको बताए ।
उनले भने, ‘कालोपत्रे सडक भत्किएको छ । अरू त के कालोपत्रे गरिएको सडकमा झार उम्रिएको छ । हामीले गुणस्तरहीन काम गर्नेलाई कारबाहीको माग गरेका छौँ ।’ सडक कालोपत्रेको क्रममा नालीसमेत व्यवस्थित नगरिएको स्थानीयवासी शरण राईले बताए । सडक कालोपत्रे सुरु हुँदा उत्साहित बनेको अवस्थामा अहिले स्थानीय निराश बनेको उनको भनाइ छ ।
‘सडक निर्माणको अवस्था बेहाल छ,’ उनले भने, ‘कालोपत्रे गरिएको सडक भत्किएको अवस्था छ । दुई वटा जिल्लालाई जोड्ने सडक कालोपत्रेको यो अवस्था देख्दा हामी दुखित छौँ । राज्यले यो कामको छानबिन गर्न आवश्यक छ ।’ ठेकेदार कम्पनीले निर्माण स्थलमा योजना बोर्डसमेत नराख्दा योजनाको बजेटलगायतको विषयमा स्थानीय बेखबर रहेको उनको भनाइ छ ।
सत्यपाटी