भेरी अस्पताल नेपालगन्जमा एक हजारभन्दा बढी बिरामीको घुँडाको जटिल प्रकारका शल्यक्रिया गरिएको छ । यसअघि राजधानी काठमाडौँबाट प्रविधि र दक्ष जनशक्ति निम्त्याएर गरिने उक्त शल्यक्रिया गत केही समयदेखि भेरी अस्पतालकै चिकित्सकहरुले सफलतापूर्वक गरिरहेका छन् ।
भेरी अस्पतालका अस्पतालका वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक डा.प्रकाश थापाका अनुसार भेरी अस्पतालका चिकित्सकको टिमले हालसम्म एक हजार १११ जनाको घुँडाको जटिल प्रकारको सफल शल्यक्रिया गरेको छ । उनका अनुसार पश्चिम नेपालका बिरामीलाई अब उक्त उपचारका लागि भारत वा काठमाडौँ जानुपर्ने अवस्था नरहेको बताए ।
उनले आफूसहित वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक डा.तिर्थेन्द्र खड्का र अर्थोपेडिक डा.शैयद सद्दामको टोलीले घुँडाको एसिल र पिसिएल नशाको सफल शल्यक्रिया गरेको जानकारी दिँदै भेरी अस्पतालमा तीन वर्षको अवधिमा लिगामेन्टको मात्र एक हजार १११ जना बिरामीको सफल शल्यक्रिया भइसकेको बताए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीले अस्पताललाई विशिष्टीकृत सेवा दिने अस्पतालका रूपमा विकास गर्ने विभिन्न सेवा र उपकरण थपिँदै लगिएको बताए । उनले बाँके, बर्दिया, दाङ र कैलाली लगायत पहाडी जिल्लाका सर्वसाधारण गम्भीर बिरामी हुँदा भारत वा काठमाडौँ जानुपर्ने बिरामीको बाध्यतालाई क्रमशः भेरी अस्पतालले कम गरिदिएको बताए ।
भेरी अस्पताल बिकास समितिका सदस्य डा.डक्टप्रसाद धितालले अस्पतालमा सेवा सुविधा थपिने र अत्याधुनिक प्रविधिहरु भित्रिने क्रम जारी रहेको पनि बताए । सोही क्रममा पछिल्लो पटक अस्पतालका वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक डा.प्रकाश थापा, अर्थोपेडिक डा.तीर्थेन्द्र खड्का र अर्थोपेडिक डा.शैयद सद्दामको टोलीले नरैनापुर गाउँपालिका दुईका १८ वर्षीय शैयद नुर आयानको घुँडाको सफल शल्यक्रिया गरे ।
१६ दिनअघि मोटरसाइकल दुर्घटनामा परी घाइते भएका आयानको दायाँ खुट्टाको घुँडामा चोट लाग्दा दुई वटा नशा एसिल र पिसिएल भाँचिएको थियो । शल्यक्रियापछि अहिले आयानको अवस्था सामान्य रहेको जनाउँदै उनका पिता तथा नरैनापुर गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले नेपालगन्जमै यतिधेरै जटिल शल्यक्रिया हुनु यस क्षेत्रका बिरामीका लागि अति नै राम्रो कुरा रहेको बताए ।
सत्यपाटी