२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

७० प्रतिशत अनुदानमा बैजनाथका किसानलाई ‘ई-लोडिङ रिक्सा’

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ साउन २ गते शुक्रबार
किसानलाई ई–लोडिङ रिक्सा वितरण गर्दै पालिका अध्यक्ष शाही लगायत ।

किसानले उत्पादन गरेको कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउन सहज होस् भन्ने उद्देश्यले बाँकेको बैजनाथ गाउँपालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत ११ जना किसानलाई ई–लोडिङ रिक्सा वितरण गरेको छ ।

आर्थिक वर्ष २०८१–०८२ मा किसानसँग पालिका प्रमुख कार्यक्रमका लागि विनियोजन गरिएको बजेटबाट छनोटमा परेका किसानलाई ७० प्रतिशत अनुदानमा ई–लोडिङ रिक्सा प्रदान गरिएको हो । ई–लोडिङ रिक्सामा अनुदान दिनका लागि गाउँपालिकाले उक्त आर्थिक वर्षमा ३० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो ।

बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले किसानले उत्पादन गरेको तरकारी र खाद्यान्न बालीलाई रिक्सामा लोड गरी बजारसम्म लगेर बिक्री गर्न सहज र सरल होस भन्ने उदेश्यले ई–लोडिङ रिक्सा प्रदान गरिएको बताए । उनले अब किसानलाई आफ्नो उत्पादन बजारमा पुर्याउन कुनै समस्या नहुने पनि बताए ।

गाउँपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा पालिका अध्यक्ष शाहीले किसानहरुलाई रिक्सा वितरण गर्दै आफूहरु निर्वाचित भएर आइसकेपछि किसानसँग पालिका प्रमुख कार्यक्रम नियमित रुपमा सञ्चालन हुँदै आएको बताए । देशभरका ७५३ वटा स्थानीय तहमध्ये बैजनाथ गाउँपालिकाले मात्र वर्षेनी ठुलो परिमाणमा बजेट विनियोजन गरेर कृषिबाटै आर्थिक क्रान्ति ल्याउने सोच बनाएको उनको दाबी थियो ।

गाउँपालिकाको कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्माले ई–लोडिङ रिक्सालाई सही काममा प्रयोग गर्न किसानहरुसँग आग्रह गरे । उनले विभिन्न चरणका प्रक्रिया पुरा गरेर ई–लोडिङ रिक्सा वितरण गरिएको पनि बताए । ई–लोडिङ रिक्सा ७० प्रतिशत अनुदानमा पाएका किसानहरु रिक्सा पाउँदा धेरै खुसी देखिएका थिए ।

बैजनाथ गाउँपालिकाले किसानको उन्नति र प्रगतिमा शुरुदेखि नै साथ दिंदै आएको उनीहरुको भनाइ थियो । वितरण कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, कृषि शाखाका कर्मचारीहरु, सर्वसाधारण र किसान लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २०८२ साउन २ गते शुक्रबार