आर्थिक वर्ष २०८२–०८३ आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुने व्यवस्था छ । सोहीअनुसार नयाँ आर्थिक वर्ष सुरु भएको हो । सरकारले विसं. २०१८ सालदेखि आर्थिक वर्षको सुरुवात साउन महिनामा सुरु भई असार महिनामा सकिने व्यवस्था गर्दै आएको छ ।
नयाँ आर्थिक वर्षले खासगरी सरकारी कारोबारसँग सम्बन्धित विषयका परिवर्तन गर्नेछ । यसले राजस्व, शुल्क, जरिवाना लगायतका व्यवस्था गरिएका परिवर्तन लागु गर्न सुरु गर्नेछ । तीन तहका सरकारले सार्वजनिक गरेको बजेटको आज देखि पूर्ण कार्यान्वयनको सुरुवात हुनेछ । आजबाट सुरु भएको नयाँ आर्थिक वर्षले सरकारी कारोबारसँग सम्बन्धित विभिन्न नयाँ व्यवस्था लागू गरेको छ ।
करको दरमा भएको परिवर्तनसमध्ये आजदेखि नै कतिपय व्यवस्था लागु भइसकेका छन् । विलासिता कर लगायतका केही व्यवस्थाको कार्यान्वयन आजदेखि सुरु हुनेछ । संघीय संरचना अन्तर्गत हाल तीन तहका सरकार (संघ, प्रदेश र स्थानीय)ले आ–आफ्नो बजेट सार्वजनिक गर्ने गर्छन् । तीमध्ये अधिकांश प्रावधान साउन १ गतेदेखि लागू हुने प्रावधान विनियोजन ऐनमा उल्लेख छ ।
यद्यपि, संघ सरकारले जेठ १६ गतेदेखि नै बजेट कार्यान्वयन गर्न सक्ने व्यवस्था गरे पनि त्यतिबेला आवश्यक तयारी नपुगेका कारण पूर्ण कार्यान्वयन हुन सकेको थिएन । अब भने बजेट कार्यान्वयनसँगै विनियोजन, स्रोत सङ्कलन तथा खर्च व्यवस्थापनका लागि आवश्यक प्रावधानहरू लागु भइसकेका छन् ।
विशेषगरी संघ सरकारका अधिकांश तथा प्रदेश र स्थानीय तहका सबै आर्थिक प्रावधान साउन १ गतेदेखि प्रभावमा आएका छन् । भन्सार तथा अन्तशुल्कसँग सम्बन्धित विषयहरू भने बजेट भाषणकै दिनदेखि लागू भइसकेका थिए । यो वर्षको बजेटमा सरकारले करका दरमा सामान्य मात्र परिवर्तन गरेको छ ।
तीमध्ये कतिपय नयाँ कर व्यवस्था साउन १ गतेदेखि लागू भइसकेका छन् भने विलासिता कर जस्ता केही व्यवस्था आजदेखि कार्यान्वयनमा आएका छन् । त्यस्तै, व्यवसाय तथा व्यक्तिगत आयमा दिइने कर छुटसमेत आजदेखि लागु हुने भएका छन् । हाल कर प्रणालीमा व्यक्तिगत आयकरको स्ल्याबमा कुनै परिवर्तन गरिएको छैन ।
प्राकृतिक व्यक्तिहरूले १ देखि ३९ प्रतिशतसम्म आयकर तिर्नुपर्ने पुरानै व्यवस्था यथावत् रहेको छ । साथै, व्यावसायिक संस्थाहरूले नयाँ आर्थिक वर्षका लागि आजदेखि नयाँ बिल बिजक जारी गर्नुपर्ने व्यवस्था गरिएको छ । सरकारले लिएका आर्थिक नीति र निर्धारण गरेका नयाँ कर दरहरूले समग्र अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले नयाँ आर्थिक वर्षको सुरुवातले विशेष महत्त्व राख्दछ ।
सत्यपाटी