२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

आयुर्वेद चिकित्सा, ‘फाइदा धेरै प्रचार थोरै’

सत्यपाटीसत्यपाटी । बागलुङ । २०८२ साउन १ गते बिहीबार

बदलिँदो जीवनशैली, अस्वस्थकर खानपान लगायत कारणले स्वास्थ्य समस्या बढ्दै छन् । समस्या समाधानका लागि मानिसले उपचारका लागि सुविधा सम्पन्न अस्पताल धाइरहेकै छन् । पछिल्लो समय भने आयुर्वेद चिकित्सातर्फ पनि चासो बढ्न थालेको छ । धौलागिरि आयुर्वेद अस्पताल बागलुङमा उपचारका लागि आउने बिरामीको सङ्ख्याले यस्तै देखाउँछ ।

पछिल्लो तथ्याङ्क अनुसार आयुर्वेद उपचारका लागि आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०–०८१ मा अस्पतालमा ११ हजार ४५५ बिरामीले सेवा लिन आएकामा आर्थिक वर्ष २०८१–०८२ मा उक्त सङ्ख्या बढेर १७ हजार ५४८ पुगेको धौलागिरि आयुर्वेद अस्पतालका प्रमुख डा.शरद् पन्थीले जानकारी दिए ।

उनका अनुसार अस्पताल र अन्य आयुर्वेद उपचार केन्द्रमा आएको बिरामीको सङ्ख्यालाई हेर्दा बर्सेनि बिरामीको सङ्ख्यामा वृद्धि भएको पाइएको र आयुर्वेद शिक्षा बढाउन आवश्यक रहेको छ । गत आर्थिक वर्षमा जिल्लाभर रहेका नौवटा आयुर्वेद सेवा केन्द्र र आयुर्वेद अस्पतालमा बिरामीको सङ्ख्या ३० हजार ४७८ रहेकामा आव २०८१–०८२ मा ३६ हजार ४९५ पुगेको छ ।

आयुर्वेद शिक्षाका लागि नागरिक आरोग्य अभियान चलाइएको, आयुर्वेद अस्पतालमा तीन जना डाक्टरले सेवा दिइराखेको र आयुर्वेद औषधि उपचारमा नागरिकको भरोसा बढ्दै गएका कारण बिरामीको सङ्ख्यामा वृद्धि भएको पन्थीको भनाइ छ । उनले मान्छेले अपनाएको खानपान र जीवनशैलीले गर्दा धेरै रोगको निम्त्याइरहको बताए ।

धौलागिरि आयुर्वेद अस्पतालका प्रमुख डा.पन्थीले भने, ‘खानपान र जीवनशैलीमा सुधार ल्याउन सकेको खण्डमा आफूलाई स्वस्थ बनाउन सक्छौँ । शरीरका लागि आवश्यक पर्ने पौष्टिक तत्वको मात्रा हेरेर खानपान गर्न सकेमा स्वस्थ्य बलियो हुन्छ, आयुर्वेद उपचार पद्धति रोगको जरासम्म पुग्ने उपचार पद्धति रहेकाले नागरिकको भरोसा बढ्दै गएको छ ।’

गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखा प्रमुख रमेश केसी पछिल्लो समय नसर्ने रोगका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएकाले आयुर्वेदको मर्मअनुसार जीवनशैली अपनाउन आवश्यक रहेको बताउँछन् । उनका अनुसार सन् १९९० मा सर्ने रोगका कारण मृत्यु हुनेको सङ्ख्या बढी थियो । ‘पछिल्लो समय नसर्ने रोगका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दो क्रममा रहेको छ,’ उनले भने । उनका अनुसार स्वस्थ र अग्र्यानिक खानेकुरा खाने र नियमित शारीरिक व्यायामले नसर्ने रोगबाट बचाउन सकिन्छ ।

उनले आयुर्वेदले यसका लागि सहयोगी भूमिका खेल्ने बताए । डा पन्थी बदलिँदो अवस्था अनुसार विभिन्न रोगव्याधि बढ्दै गएका अवस्थामा आयुर्वेद उपचारको उपयोगिता बढ्दै गएका, तर प्रचारप्रसारको अभावमा अझै व्यापकता पाउन नसकेको बताउँछन् । उनी भन्छन्, ‘आयुर्वेदको महत्त्व र फाइदा धेरै छ, तर यसको प्रयाप्त प्रचार हुनसकेको छैन । त्यसैले यसको उपयोगिताबारे व्यापक प्रचारको आवश्यकता छ ।’

प्रकाशित मिति : २०८२ साउन १ गते बिहीबार