सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ ।
साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपाली असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलोमैलोले लाग्ने छाला सम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा.डा.देवमणि भट्टराई बताउँछन् । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गर्ने गर्छन् ।
लुतो फाल्दा आआफ्नो कुल परम्परा अनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रूपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रूपमा पनि लिइन्छ । महिलाले हरियो चुरा लगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गर्छन् । साउन महिनामा विशेषगरी हरियो कपडा, चुरा बढी बिक्री हुने गरेको छ । यो महिनामा धेरै महिलाले हरियो र रातो पहिरन लगाउने गर्छन् ।
लुतो फाल्दा के-के चाहिन्छ सामग्री ?
नेपालका प्राचीन संस्कृति अनुरुप साउन १ गते साँझ घर घरमा लुतो फाल्ने प्रचलन भए पनि लुतो फाल्दा जुटाइने सामग्रीबारे नयाँ पुस्ता अनभिज्ञ हुन थालेका छन् । लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता पाउँदै आए पनि विस्तारै त्यस क्रममा प्रयोग गरिने सामग्रीबारेको जानकारी नयाँ पुस्तामा खासै छैन ।
परम्परा अनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर ‘कण्डारक’ नाम गरेका राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिए पनि कतिपय ठाउँमा यी सामग्री लोप भइसकेका छन् भने कतिपय ठाउँमा पछिल्लो पुस्ताले ती सामग्री पहिचान गर्न सकेका छैनन् ।
लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिँकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ । पछिल्ला समयमा लुतो फ्याँक्ने प्रचलन हराउँदै गए पनि केही धार्मिकस्थलमा सामाजिक रुपमै लुतो फ्याँक्ने संस्कृृति मनाउने गरिएको छ ।
कास्की जिल्लाको भरतपोखरीस्थित प्रसिद्ध कोटभैरव मन्दिरजस्ता केही धार्मिक तीर्थस्थलमा सामाजिक रुपमा नै लुतो फाल्ने प्रचलन रहेको कोटभैरव मन्दिर संरक्षण एवं व्यवस्थापन समितिका उपाध्यक्ष गुरुप्रसाद पौडेलले जानकारी दिए । सौर्यमान अनुसार सूर्य दक्षिणतर्फ सरी कर्कटरेखा माथि जाने भएकाले साउने सङ्क्रान्तिलाई कर्कट सङ्क्रान्ति भन्ने गरिन्छ ।
कृषिप्रधान देशमा ‘मानो खाई मुरी उब्जाउने’ प्रचलित कथन अनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन् । असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने छालाको रोग बाट मुक्ति पाउन साउने सङ्क्रान्तिका दिन साँझ लुतो, दाद आदि चर्मादि रोगबाट मुक्ति पाउन लुतो फाल्ने प्रचलन छ ।
महिलाहरु साउने सङ्क्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनाका साथै शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्छन् । देवी पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेकीले सोमबारको व्रतको महत्व छ । साउन महिना भगवान् शिवको महिना भएकाले यो महिनाभर शिवालयमा दर्शनार्थीको अत्यधिक भीड लाग्छ ।
सत्यपाटी