२०८२ साउन १ गते बिहीवार, १७ जुलाई २०२५ । श्रावण कृष्णपक्ष सप्तमी तिथि, १८ः०३ बजेपछि अष्टमी । रेवती नक्षत्र । चन्द्रराशि मीन ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
खर्च बढ्नुका साथै कामको मेसो नमिल्दा केही अलमल हुनेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । मालमत्ता जुटाउन अधिक खर्च लागे पनि दिगो काम प्रारम्भ हुनेछ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम सम्पादन गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ । दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । थोरै लगानीबाट प्रशस्त नाफा उठाउन सकिनेछ । भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
मिहिनेतले नयाँ जिम्मेवारी दिलाउनेछ । तारिफयोग्य कामको चर्चा हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला । सहयोगीहरूले हिम्मत दिलाउनेछन् ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
चुनौतीभित्र अवसर खोज्ने समय छ । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ । तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ । अरूका लागि बुद्धि खर्चनुपर्ला । आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन् । लगनशीलताले मात्र संकल्प पूरा हुनेछ । सेवामूलक काम सम्पादन गर्न सकिनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थिति केही असहज रहने समय छ । अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने हुन सक्छ । आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपर्ला । चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम गर्न सकिनेछ । वादविवादमा अघि नसर्नुहोला । सावधानीले नै सम्भावित समस्या टर्न सक्छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन् । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ । व्यवसायले मनग्य आम्दानी दिलाउनेछ । विभिन्न सहयोग र उपहार हातलागी हुने समय छ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ । द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । मिहिनेतले प्रतिद्वन्द्वी परास्त हुनेछन् । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
धेरै फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । अवसर आए पनि खर्चिलो काम थाल्न राम्ररी विचार पुर्याउनुहोला । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि कामले आशा भने जगाउनेछ । समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला । बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अध्ययनमा पछि परिनेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्न सकिनेछ । अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । आर्जित द्रव्य अरूलाई दिने नभई भित्र्याउने समय छ । दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ । पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुनेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ । विशेष उपहार हातलागी हुनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्राथमिकताका आधारमा काम गर्न नसक्दा केही पछि परिनेछ । बोली–व्यवहारमा अलि सजग रहनुपर्ला । बुद्धिले काम लिँदा योजना अघि बढ्नेछ र पछिलाई फाइदा हुनेछ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । अध्ययनले ज्ञानलाई निखार्ने समय छ । नीति–नियमलाई समयमै ध्यान दिनुहोला । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । तर काममा प्रतिस्पर्धी बढ्नेछन् भने पहिलेका सहयोगीहरू टाढिन सक्छन् । अरूको विषयमा चासो राख्दा व्यर्थैमा दुःख पाइनेछ । तापनि रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुने समय छ ।
सत्यपाटी