अबदेखि जटिल प्रकारका क्यान्सरको उपचारमा प्रयोग हुने महँगो मानिएका ३७ प्रकारका औषधि वान हार्ट वल्र्डवाइडको समन्वयमा अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफ नामक संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
संस्थाले पहिलो भाग नेपाल आइपुगेसँगै स्तन, छालासहित केही जटिल प्रकारका क्यान्सरको उपचारमा आवश्यक पर्ने इम्युनियो थेरापीजस्ता ज्यादै महँगो औषधि नेपालले सहयोग स्वरूप पाएको हुँदा निःशुल्क वितरण गर्ने लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका समन्वय महाशाखा प्रमुख भीम सापकोटाले बताए ।
पाँच वर्षसम्म नेपालले आवश्यकता अनुसार निःशुल्क औषधि पाउने
समन्वय महाशाखा प्रमुख सापकोटाका अनुसार अब यी ३७ प्रकारका औषधि नेपालले आफूलाई आवश्यक पर्नेजति माग अनुसार पाँच वर्षसम्म निःशुल्क पाउने गरी सम्झौता भएको बताए । ‘हामीले हाम्रो माग अनुसार पाँच वर्षसम्म निःशुल्क पाउने गरी सम्झौता भएको छ, अहिले आएको औषधि ७ करोड बराबरको छ,’ सापकोटाले भने ।
दुई महिना अगाडि नै उक्त औषधि नेपालले पाउने टुंगो भएर ल्याउन सकिने भए पनि प्रकृयागत काममा ढिलाइ हुँदा दुई महिना ढिला गरी औषधि आएको समेत समन्वय महाशाखा प्रमुख सापकोटाले बताए । हाल आएका यी ३७ प्रकारका मध्ये केही औषधि नेपालमा पहिलो पटक आएका हुँदा औषधि व्यवस्था विभागमा दर्ता गर्नुपर्ने प्रकृयागत निर्णयले गर्दा पनि ढिलाइ भएको बताइएको छ । हाल मन्त्रालयले यी औषधी वितरणको कार्यविधि बनाइसकेको समेत बताइएको छ ।
डाइरेक्ट रिलिफले वन हर्ट वल्र्डवाइड संस्थामार्फत नेपाल सरकारलाई पठाएको सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले औषधि अभावमा विदेश गएर महँगो खर्च गर्नुपर्ने बिरामीको समस्या कम गर्न लामो मेहनतपछि सफलता प्राप्त गरेको बताए । ‘क्यान्सरको औषधि महँगो हुँदा विपन्न नागरिकलाई समस्या छ,’ मन्त्री पौडेलले भने, ‘राज्यको लगानीबीना नै धेरै नागरिकलाई राहत दिने प्रयास गरेका हौं ।’
हाल ३७ प्रकारका औषधि क्रमैसँग आउने भए पनि अरु आवश्यक औषधि समेत सहयोगमा प्राप्त गर्न प्रयास गरिने मन्त्री पौडेलले बताए । मन्त्री पौडेलले सरकारी क्यान्सर अस्पतालमा तत्काल औषधि पठाउने व्यवस्था मिलाइएको जानकारी समेत दिए । वन हर्ट वल्र्डवाइडका नेपाल प्रतिनिधि सूर्य भट्टले मन्त्री पौडेलको विशेष पहलबाट मात्र औषधि प्राप्त भएको भन्दै यो नेपालका लागि ठूलो उपलब्धि भएको बताए ।
स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य चार अस्पतालहरु बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके, वीर अस्पताल, काठमाडौंबाट वितरण गरिने र सो औषधि आजै यी अस्पतालहरुलाई समेत हस्तान्त्रण गरिएको छ । हाल यी तीनवटा अस्पतालबाट यी औषधि वितरण गरिए पनि केही समयपछि क्यान्सरको उपचार हुने अन्य सरकारी अस्पतालहरुबाट पनि यो औषधि वितरण गर्दै जाने मन्त्रालयको योजना रहेको छ ।
सत्यपाटी