२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

एउटै घरमा २३ विषालु सर्प भेटिए उद्धारकर्ता हैरान !

सत्यपाटीसत्यपाटी । रुपन्देही । २०८२ असार ३२ गते बुधबार

रुपन्देहीको एउटा घरभित्र २३ वटा विषालु सर्प भेटिएका छन् । तिलोत्तमा नगरपालिका–५ प्रेमनगरमा रहेको डिलाराम अर्यालको घरबाट उद्धारकर्ताले २३ वटा विषालु गोमन (कमन कोब्रा) सर्प निकालेका हुन् । केही दिनअघि घरधनी डिलाराम किचनमा खाना पकाउँदै गर्दा सर्पले टोकेको थियो । त्यसपछि घरमा धेरै भेटिन थालेका थिए ।

गत शनिबार साँझपख ५ बजेतिर भान्छामा छिरेर खाना बनाउँदै गर्दा डिलारामको खुट्टामा कमिलाले टोकेजस्तो भयो । हेर्दा सर्प रहेछ । डिलाराम तत्काल बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुगे । किचनको ढोका थुनेर उनी अस्पताल गएका थिए । सर्पले टोकेको २० मिनेटमै अस्पताल पुगेकाले उनलाई केही भएन ।

पछि छिमेकीले सर्प उद्धारकर्ता विशाल पाण्डेलाई फोन गरे । विशाल बुटवल बाहिर रहेकोले तत्काल सर्प उद्धार गर्न पुग्न सकेनन् । उनी आउँदा ८ बजेको थियो । घरमा पुग्नेवित्तिकै एउटा सर्प मूल गेटमै थियो । उनी गेट खोलेर भित्र छिरे । गल्लीमा थप दुई वटा सर्प देखिए । धेरै सर्प देखेपछि विशालले आफूले तालिम दिएका भाइ विश्वासलाई पनि बोलाए ।

किचनको ढोका खोलेर हेर्दा थप दुई वटा देखिए । त्यो दिन पाँच वटालाई उद्धार गरेर घरबाट निकालिएको विशालले बताए । राति १० बजे विशाल र विश्वास त्यहाँबाट निस्के । उद्धार गरिएका सर्प जंगलमा लगेर छाडिदिएका थिए । किचनमा केही भाग फुटेको देखेपछि विशाललाई त्यहाँ अरू पनि सर्प छन् कि भन्ने शंका लागिरहेको थियो ।

घरधनी भोलिपल्ट उपचारगरी अस्पतालबाट घर फर्किए । किचनको तल फुटेको ठाउँ सफा गर्न खोज्दा उनले फेरि सर्प देखे । फेरि तुरुन्तै विशाललाई फोन गरे । विशाल कोरियन भाषासमेत पढाउने भएकोले केही ढिलो गरी दुई भाइ फेरि गए । फुटेको ठाउँमा हेर्दा अन्य धेरै सर्पहरू सल्बलाइरहेको पाए । दोस्रो दिन तोडफोड गरेर बिहानदेखि बेलुकासम्म थप १२ वटा सर्प निकालेको डिलारामले बताए ।

अझै सर्प हुन सकने उनलाई लागेको थियो । भोलिपल्ट घरधनीले मिस्त्रीलाई बोलाए । विशाल र विश्वास पनि आए । अनि थप सर्पको खोजी भयो । त्यो दिनभित्र माउ सर्प पनि देखियो तर, फुटेको ठाउँमा ठूलो माउलाई निकाल्न सम्भव भएन । तेस्रो दिन थप ६ वटागरी २३ वटा सर्पको उद्धार गरिएको उनले बताए । दुई दिन अझै माउ र अन्य बच्चा निस्किन्छन् कि भनेर किचनलाई निगरानीमा राखिएको थियो तर, निस्किएन ।

त्यसपछि सर्प देखिएनन् । त्यसपछि त्यो फुटेको भाग ढलान गर्ने निचोडमा पुगे । ‘एउटै घरभित्र यति धेरै विषालु सर्प भेटिएको सम्भवतः पहिलो घटना होला,’ विशाल भन्छन्, ‘माउ सर्प ढोकाबाट छिरेर चरभित्र पस्यो । अनि त्यहीँ फूल पारेर बच्चा कोरल्यो । अनि त्यहीँ बच्चा हुर्किएर बाहिर निस्किएपछि बल्ल थाहा भयो । माउ सर्प निकाल्न नसके पनि त्यो अब मर्यो होला ।’

उद्धार गरिएका सबै सर्पलाई जंगलमा लगेर छाडिएको विशालका बुवा खिमलाल पाण्डेले बताए । ‘किचन फोहोर पनि रहेछ,’ खिमलाल भन्छन्, ‘त्यसमाथि फुटेको ठाउँमा सर्पले सुरक्षित स्थान ठानेर बसिरह्यो । त्यही फुल पारेर बच्चा निकाल्यो ।’ तराईंमा बढ्दो सहरी विकाससँगै सर्पको बासस्थान मासिँदै गएपछि र खानाको खोजीमा सर्प घरभित्र पस्न थालेका छन् । गर्मी समयमा सर्प बढी देखिने गर्छन् ।

सोही घरबाट खिमलालले १२ वर्षअघि ११ वटा गोमन सर्पका बच्चा उद्धार गरेका थिए । एउटै घरबाट यति ठूलो संख्यामा विषालु सर्पका बच्चा भेटिनुलाई दुर्लभ घटना मानिएको छ । पाण्डे परिवारका तीनै बाबुछोरा सर्प उद्धारमा सक्रिय छन् । सर्प देखेमा उद्धार कर्तालाई खबर गर्न विशाल आग्रह गर्छन् ।

प्रकाशित मिति : २०८२ असार ३२ गते बुधबार