२०८२ असार ३२ गते बुधवार, १६ जुलाई २०२५ । श्रावण कृष्णपक्ष षष्ठी तिथि । पूर्वभाद्रपदा नक्षत्र, ६ः०४ बजेपछि उत्तरभाद्रपदा । चन्द्रराशि मीन ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थितिले खर्च बढाउनेछ । आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला । परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ । अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । व्यवसायमा लगानी बढाउनुपरे पनि उधारोमा व्यापार हुनेछ । फाइदाका लागि केही त्याग्नुपर्ने हुन सक्छ । अवसरवादीहरूबाट सजग रहनुहोला । खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्छ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा ध्यान केन्द्रित हुनेछ, प्रगति हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ । प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ । पुरानो मित्रताले प्रेमको मार्ग अवलम्बन गर्न सक्छ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ । सोखले थलिएको काम व्यवसायमा रूपान्तरित हुनेछ । मेहनतीहरूलाई कार्यसिद्धिको समय छ । कर्मयोगले नाम र दाम दिलाउनेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । बाध्यताले अलमल्याउन सक्छ । तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ । सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ । चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला । सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला । स्वास्थ्यमा कमजोरी अनुभूति हुन सक्छ । खानपान र आहारविहारमा ध्यान पुर्याउनुहोला । केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ । दोहोर्याएर प्रयत्न गर्दा आँटेको काम बन्न सक्छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ला ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
तारिफयोग्य पहिरन, व्यक्तित्व र कामले चर्चित भइनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । घुमफिर तथा मनोरञ्जनको समय छ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ । आफन्तको स्नेह, सत्कार तथा सम्मान प्राप्त हुनेछ । प्रयत्न गर्दा दिगो फाइदा हुने काम थालनी हुनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
शत्रुहरू स्वतः किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ । मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ । द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन् । चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ । व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसरले पछ्याए पनि प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ । सहयोगीहरूले साथ नदिन सक्छन् । कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउन सक्छ । धैर्य एवं लगनशीलताले मात्र न्यून प्रतिफल हातपार्न सफल भइनेछ । काम थाल्नुअघि योजना सार्वजनिक नगर्नुहोला ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ । पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ । अरूको भरपर्दा काम बिग्रन सक्छ । मान्यजनको सहयोगले तत्कालको अन्योल भने टर्न सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ । लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ । आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ । चिताएको काम सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका छ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । मान–सम्मान प्राप्त हुनेछ । सम्पादित कामबाट धन लाभ हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नाम, दाम र इनाम प्राप्त हुनेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ । विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ । रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ । नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ ।
सत्यपाटी