२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

आकर्षक पर्यटकीय गन्तव्य बन्दै जलवीरे झरना

सत्यपाटीसत्यपाटी । चितवन । २०८२ असार ३१ गते मंगलबार
चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ मा अवस्थित जलवीरे झरना ।

चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ मा अवस्थित जलवीरे झरना हालका वर्षहरूमा चितवनकै चर्चित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ । लामो झरना भनेर समेत चिनिने यस झरनाको उचाई झण्डै १०२ मिटर रहेको छ । नारायणगढ–मुग्लिन सडकखण्डको किनाराबाट करिब एक किलोमिटर उकालो हिँडेपछि यो झरनामा पुग्न सकिन्छ ।

वन क्षेत्रमा रहेको यो झरनाले प्रकृतिप्रेमीहरू र शाहसिक यात्रामा रुचि राख्नेहरूको ध्यान तान्न थालेको छ । झरनाको फेदमा चार–पाँच फिट गहिरो प्राकृतिक पोखरी बनेको छ । जसलाई झरना विकास समितिले थप व्यवस्थापन गरेर आकर्षक बनाएको छ । गर्मी महिनामा यहाँ पर्यटकहरूको आगमन उल्लेखनीय रूपमा बढ्ने गरेको छ ।

झरना क्षेत्र वरपर अहिले क्यानोनिङ, स्विमिङ, स्लाइडिङ, जम्पिङ, र हाइकिङ जस्ता शाहसिक गतिविधिहरू सञ्चालन हुँदै आएका छन् । विभिन्न साहसिक खेल कम्पनीहरूले झरना विकास समितिसँग सहकार्य गर्दै यस्ता कार्यक्रमहरू अगाडि बढाइरहेका छन् । पर्यटकहरूको सङ्ख्या हरेक वर्ष बढ्दो क्रममा छ ।

राजधानी काठमाडौँबाट मात्र करिव पाँच घण्टाको यात्रा गरी झरनामा पुग्न सकिने भएकाले आन्तरिक पर्यटकहरूको लागि यो झरना गर्मी र थकानबाट मुक्ति पाउने प्रमुख गन्तव्य बन्दै गएको छ । यहाँ प्रवेश शुल्क स्वदेशी पर्यटकका लागि ५० र विदेशीका लागि १०० रुपैयाँ तोकिएको छ । क्यानोनिङका लागि भने स्वदेशीले १०० र विदेशीले ५०० रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ ।

सामान्य दिनहरूमा दैनिक १०० देखि २०० जना पर्यटक यहाँ पुग्ने गरेका छन् भने शनिबार तथा सार्वजनिक बिदाका दिन यो सङ्ख्या ४०० नाघ्ने गरेको जलवीरे झरना विकास समितिका सचिव अमर अधिकारी बताउँछन् । उनका अनुसार नयाँ वर्षजस्ता विशेष अवसरमा एकै दिनमा एक हजार ५०० भन्दा बढी आगन्तुकहरू झरना अवलोकन गर्न आएको रेकर्ड समेत छ ।

झरनाको समग्र विकासका लागि गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारले संयुक्त रूपमा संरचनात्मक पूर्वाधार निर्माणमा लगानी गरिरहेका छन् । हालसम्म कालोपत्रे सडक, ढुङ्गाको सिँढी, रेलिङ, गोलघर, शौचालय, धारा, टिकटघर तथा पौडी पोखरी निर्माण भइसकेका छन् । साथै तीन वटा सटर र होमस्टे सञ्चालनको तयारीसमेत भइरहेको छ ।

आगामी दिनमा यहाँ जिपलाइन र साइकलिङ ट्र्याक सञ्चालन गर्ने योजना बनाइएको छ । जलवीरे झरना अहिले सामाजिक सञ्जालहरू–जस्तै टिकटक, फेसबुक र इन्स्टाग्राम–मार्फत अत्यधिक चर्चित बनेको छ । झरनाको मनमोहक दृश्य, चिसो वातावरण र रमणीयता हेर्न तराई क्षेत्रका साथै भारतका विभिन्न भागहरूबाट पनि पर्यटकहरू आउने गरेका छन् ।

भारतीय पर्यटक जान्ह्वी वर्मा भन्छिन्, ‘यो झरना अत्यन्त सुन्दर छ । यस्तो प्राकृतिक सौन्दर्य भारतमा बिरलै छ ।’ नेपालका काठमाडौँ, ललितपुर, भक्तपुर, हेटौंडा, पोखरा, गोरखा लगायतका स्थानहरूबाट पनि उल्लेखनीय सङ्ख्यामा पर्यटकहरू आउने गरेको झरना व्यवस्थापन समितिका सचिव अधिकारी बताउँछन् ।

चितवनको गर्मी मौसममा शीतलता दिने यो झरनाले केवल पर्यटकीय क्षेत्रमै होइन, स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न थालेको छ । यसरी नै संरक्षणसँगै योजनावद्ध रूपमा विकास गर्न सकिएमा जलवीरे झरना निकट भविष्यमा राष्ट्रियस्तरको प्रमुख पर्यटकीय केन्द्र बन्नेमा कुनै शङ्का छैन ।

प्रकाशित मिति : २०८२ असार ३१ गते मंगलबार