२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

आज नेपालका कुन-कुन राजमार्ग अवरुद्ध छन् ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असार ३१ गते मंगलबार

वर्षा र पहिरोका कारण नेपालका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन् । ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुणमा अविरल वर्षाका कारण कोशी राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ ।

यसैगरी रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ मा नेपाल–चीन जोड्ने पुल र पासाङ ल्हामु राजमार्ग बाढीका कारण पूर्ण रुपमा अवरुद्ध भएको छ । गण्डकी प्रदेशमा बागलुङको बागलुङ नगरपालिका–१० डबल्याजमा पहिरोका कारण कालीगण्डकी करिडोर एकतर्फी रुपमा सञ्चालनमा छ ।

यस्तै गलकोट नगरपालिका–११ काउसेस्थित मध्यपहाडी लोकमार्ग पनि पहिरोका कारण एकतर्फी रुपमा खुलेको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–९ मसारेमा कालीगण्डकी करिडोर पहिरोका कारण एकतर्फी सञ्चालनमा छ भने कालीगण्डकी गाउँपालिका–४ बलबाको करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ ।

रोल्पाको परिवर्तन गाउँपालिका–३ भ्रामरमा शहीद राजमार्ग पहिरोका कारण एकतर्फी रुपमा सञ्चालनमा छ । प्युठानको प्युठान नगरपालिका–१० हादगैरास्थित बाम्दुला मध्यिक सडक खण्ड पहिरोका कारण एकतर्फी रुपमा मात्रै खुलेको छ ।

यसैगरी रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजिंगारमा जाजरकोट–डोल्पा भेरी करिडोर सडक खण्ड बाढीका कारण पूर्णरुपमा अवरुद्ध छ । यता डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–९ छछातमा पनि भेरी करिडोर बाढीका कारण पूर्ण रुपमा अवरुद्ध छ ।

प्रकाशित मिति : २०८२ असार ३१ गते मंगलबार