२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

भोलिदेखि मनसुन थप ‘एक्टिभ, आज यी क्षेत्रमा हुँदैछ भारी वर्षा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असार ३१ गते मंगलबार

देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना छ । काठमाडौंमा गएरातिदेखि नै वर्षा भइरहेको छ । दिउँसो देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘काठमाडौं बिहान वर्षा भइरहेको छ । केही समयपछि रोकिनेछ,’ मौसमविद् विनु महर्जन भन्छिन्, ‘काठमाडौंमा दिनभर बादल लाग्छ । दिउँसो २–३ बजेपछि र साँझ पुनः काठमाडौंमा वर्षा हुनेछ ।’ उनका अनुसार काठमाडौंमा आज हल्कादेखि मध्यम वर्षा हुनेछ ।

महाशाखाले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोसी प्रदेशका तराई तथा मधेस प्रदेशको थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले बताएको छ ।

आज केही स्थानमा १०० मिलिमिटरभन्दा माथि वर्षा भए पनि अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा नै हुने मौसमविद् महर्जन बताउँछिन् । उनका अनुसार हिजोबाट केही मात्रामा थप सक्रिय भएको वर्षा गराउने प्रणाली भोलि (बुधबार)बाट अझै धेरै एक्टिभ हुनेछ ।

‘बुधबारबाट वर्षा गराउने प्रणाली थप एक्टिभ हुँदा भोलिबाट आज र हिजोको तुलनामा थप धेरै स्थानमा वर्षा हुने देखिन्छ,’ मौसमविद् महर्जन भन्छिन्, ‘कोसी र अन्य प्रदेशका तराईका धेरै स्थानमा पनि यो पटक वर्षाको सम्भावना रहेको छ ।’

कोसी र लुम्बिनी प्रदेशको तराईको दक्षिणी बेल्टमा हालसम्म खडेरीको अवस्था छ । यद्यपि, आज र भोलिबाट यी क्षेत्रमा पनि वर्षाको कभरेज हुने लेखिएको उनी बताउँछिन् । ‘तराईका अहिलेसम्म वर्षा नभएका क्षेत्रमा पनि वर्षाको कभरेज हुने देखिन्छ,’ मौसमविद् महर्जन भन्छिन्, ‘तर, वर्षा नभएसम्म हुन्छ नै भनेर भन्न सकिहाल्ने अवस्था भने हुँदैन ।’

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेकाले वर्षाको अनुकूल प्रणाली बनेको मौसमविद् महर्जनको भनाइ छ ।

प्रकाशित मिति : २०८२ असार ३१ गते मंगलबार