देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास मन्त्रालयका अनुसार यही असार २९ गतेसम्म आठ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ भएको हो । गत वर्षको तुलनामा झण्डै ८ प्रतिशतले रोपाइँमा कमी आएको हो । गत वर्ष यस अवधिमा ६७.७ प्रतिशतमा धान रोपाइँ भएको थियो ।
प्रतिशतका हिसाबले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा एक लाख ६३ हजार ९९३ हेक्टरमा रोपाइँ भएको छ । उक्त प्रदेशमा ९३.१ प्रतिशत रोपाइँ भएको जनाइएको छ । यस वर्ष वर्षा समयमै सुरु भएर बिउ राखिए पनि रोप्ने बेलामा कम पानी परेकाले रोपाइँ भने कम भएको बाली विकास निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार कर्णाली प्रदेशमा ८३.२३ प्रतिशत अर्थात् ३४ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिने क्रममा छ । लुम्बिनी प्रदेशमा ७३.६८ प्रतिशत अर्थात् २२ हजार ३२१ हेक्टर, गण्डकी प्रदेशमा ६६.९९ प्रतिशत अर्थात् ६३ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।
यस्तै बागमती प्रदेशमा ७६.३१ प्रतिशत अर्थात् ९१ हजार ९८३ र कोशी प्रदेशमा ४१.३२ प्रतिशत अर्थात् एक लाख १४ हजार २११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । सबैभन्दा कम मधेश प्रदेशमा ३३.७८ प्रतिशत अर्थात् एक लाख २५ हजार ८८८ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको बाली विकास निर्देशनालयले जनाएको छ ।
यस वर्ष १३ लाख ८३ हजार ७३२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको छ । मन्त्रालयले आइतबारसम्म सङ्कलन गरेको तथ्याङ्क अनुसार देशका केही भागमा रोपाइँ जारी छ । आगामी साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।
उनका अनुसार धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र राम्रो मानिन्छ । त्यस क्षेत्रबाट धानको उत्पादकत्वसमेतमा वृद्धि भई कूल उत्पादनको ७० प्रतिशत योगदान छ । पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको छ । गत आव २०८०–०८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिकटन धान उत्पादन भएको थियो ।
मौसमको प्रतिकूलता, दैवी प्रकोप, अतिवृष्टि तथा अनावृष्टिले रोपाइँमा नकारात्मक प्रभावले कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुने गरेको छ । मुलुकमा करिब १४ लाख हेक्टर जमिनमा रोपाइँ हुने गर्दछ । पछिल्लोपटक विकास भएका ज्ञान, सीप, प्रविधि तथा उन्नत जातका बीउबिजनको विकासका कारण उत्पादन वृद्धि हुने अनुमान छ ।
धान उत्पादनमा करिब १० प्रतिशतले घटबढ भएमा मुलुकको कूल गार्हस्थ्य उत्पादनमा एक प्रतिशतले घटबढ हुने जनाइएको छ । यसवर्ष स्वदेशमा उत्पादन हुने अनुमान गरिएको ६० लाख मेट्रिकटन धानबाट करिब ३५ लाख मेट्रिकटन खानयोग्य चामल बन्ने कृषि तथा पशुपक्षी विकास मन्त्रालयको भनाई छ ।
सत्यपाटी