२०८३ साउन ३ , आइतबार 20, July 2026, Monday

भानु जयन्तीका अवसरमा नेपालगन्जका दुई साहित्यकार सम्मानित

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ असार २९ गते आइतबार

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीको अवसरमा आइतबार नेपालगन्जमा अवधि र उर्दू भाषाका दुई जना साहित्यकारलाई अभिनन्दन तथा सम्मान गरिएको छ ।

भानुभक्त चोक संरक्षण तथा व्यवस्थापन समिति, महेन्द्र पुस्तकालय र भेरी साहित्य समाजद्वारा संयुक्त रुपमा आयोजना गरिएको प्रभातफेरी तथा स्रष्टा अभिनन्दन कार्यक्रममा उर्दूका वरिष्ठ साहित्यकार अब्दुल लतिफ शौक र अवधिका वरिष्ठ साहित्यकार सच्चिदानन्द चौवेलाई अभिनन्दन र सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनतकुमार रेग्मीले ८७ वर्षीय शौक र ८५ वर्षीय चौवेलाई दोसल्ला ओढाएर अभिनन्दन पत्र हस्तान्तरण गर्दै अभिनन्दन गरे । यसअघि स्थानीय भानुभक्त चोकमा भेला भएका साहित्यकारहरुले भानुभक्तको शालिकमा माल्यार्पण गरेर अभिनन्दन गरिने वरिष्ठ साहित्यकारहरुलाई रथारोहण गराई प्रभातफेरीसहित नगरपरिक्रमा गराइएको थियो ।

कार्यक्रममा कथाकार रेग्मी, महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादव, भेरी साहित्य समाजका सल्लाहकार डा.हरि तिमिल्सिना, साहित्यकार इन्द्र बस्नेत, डा.गोपाल अधिकारी लगायतले नेपाली साहित्य र भाषा संरक्षणमा भानुभक्त आचार्यको योगदानको चर्चा गरेका थिए । सोही अवसरमा इन्दुका कविताहरु पुस्तक पनि विमोचन गरिएको छ ।

कार्यक्रममा ठुलो सङ्ख्यामा साहित्यकार र लेखकको सहभागिता थियो । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएको छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा लय हालेर पाठ गरिन्छ ।

प्रकाशित मिति : २०८२ असार २९ गते आइतबार