२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असार २९ गते आइतबार

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । उनको ‘कार्डियाक अरेस्ट’का कारण शनिबार साँझ नर्भिक अस्पतालमा निधन भएको हो । उनी २०६९ फागुनदेखि २०७५ फागुनसम्म निर्वाचन आयुक्तको जिम्मेवारीमा थिइन् । शर्माको २०२३ साल कात्तिकमा जन्म भएको थियो ।

उनको बाल्यकाल भने भारतको बनारसमा बितेको थियो । उनको दाहसंस्कार भोलि गरिनेछ । उनका दुई छोरी छन् । पूर्वनिर्वाचन आयुक्तका साथै उनी पूर्वपत्रकार समेत हुन् । २०४५ सालमा दि राइजिङ नेपाल अङ्ग्रेजी दैनिकको उपसम्पादकको रूपमा सेवा प्रवेश गरेकी उनले सक्रिय पत्रकारका रूपमा करिब १३ वर्ष बिताएकी थिइन् ।

उनको घरतिरको पारिवारिक पृष्ठभूमि पनि पत्रकारितासँग जोडिएको थियो । उनका ससुरा रामराजा पौड्याल पनि पत्रकार थिए । शर्माका श्रीमान् नवराज पौडेलको भने माओवादी युद्धकालमा हत्या भएको थियो । नवराज नेपाल प्रहरीमा कार्यरत थिए ।

उनले फूड फर्स्ट इन्फर्मेशन एक्शन नेटवर्क (एफआईएएन) नेपालको कार्यकारी समितिमा संस्थापक उपाध्यक्ष र साउथ एसियन वुमन इन मिडिया (एसएडब्लूएम)को कार्यकारी समितिमा रहेर पनि काम गरेकी थिइन् । त्यस्तै शर्माले सिटिजन्स बैंक र नबिल बैंकको सञ्चालककको रुपमा समेत काम गरेकी थिइन् । उनको आजै दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असार २९ गते आइतबार