गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामका कृषकले व्यावसायिक उखुखेती गरेर राम्रो आम्दानी लिइरहेका छन् । सिँचाइका अभावमा बाँझिएका बारीहरुमा यतिबेला उखुखेतीले ढपक्कै बनेका छन् । छत्रकोट–४, दिगामका कृषक रामकृष्ण न्यौपानेलाई यतिबेला त्यही उखुबाट निस्किएको रसबाट गुड र खुदो उत्पादन गरेर बिक्री गर्न भ्याइनभ्याइ छ ।
बिहान उज्यालो हुनासाथ बेलुकी अबेरसम्म पनि उनको परिवार गुड र खुदो उत्पादन गर्नमा व्यस्त देखिन्छन् । गुड र खुदो बिक्री गरेर पाँच महिनाका अवधिमा न्यौपानेले झन्डै एक करोड रूपैयाँको कारोबार गरिसकेका छन् । गाउँबाट धेरै युवाहरु रोजगारीको खोजीमा भौँतारिरहेको अवस्थामा छत्रकोट–४, दिगामका युवाहरु रामकृष्ण न्यौपाने, किरण न्यौपाने, जगदीश पाण्डे यतिबेला गाउँमै उखुखेतीमा रमाइरहेका छन् ।
उनीहरु तीनै जनाले संयुक्तरुपमा एक करोडको योजना बनाएर आफ्नै लगानीमा गाउँमै तीन वर्षदेखि व्यावसायिक तरिकाबाट उखु उत्पादन गरेर उद्योग स्थापना गरेका छन् । त्यही उद्योगबाट यतिबेला गुड र खुदो उत्पादन गर्दै आएका छन् । उखुको रसबाट बनेको गुड र खुदो बिक्री गरेर तीनजना युवाहरु आर्थिक समृद्धिको खोजीमा जुटन थालेका हुन् । उनीहरुले तीनसय रोपनी जग्गा भाडमा लिएर उखुखेती गर्न सुरु गरेका हुन् ।
गाउँमै उखु उद्योग स्थापना गरेर उनीहरुले उखुको रसलाई विविधीकरण गर्दै आएका छन् । आधुनिक मेसिनबाट पेलीएको उखुको रसलाई प्रशोधन गरी गुड र खुदोको ब्रान्डिङ गरिएको छ । उनीहरुले कम्पनीमार्फत गाउँका १२५ भन्दा बढी किसानहरुको उखु खरिद गरेर खुदो र गुड उत्पादन गर्दै आएका छन् । कृषि ज्ञान केन्द्र गुल्मीले न्यौपालेलाई उखु प्रशोधनका लागि आधुनिक मेसिन र भट्टी निर्माणका लागि ६ लाख ४५ हजार अनुदान रकम उपलब्ध गराएको छ ।
उक्त अनुदान रकममा थप गरेर उनीहरुले १२ लाखभन्दा बढी लगानिमा उखु प्रशोधनका लागि मेसिन जडान गरेका छन् । उक्त मेसिनबाट प्रतिघण्टा २५ क्विन्टल उखु पेल्न सक्ने क्षमता रहेको उद्योगका सञ्चालक रामकृष्ण न्यौपानेले बताए । कम्पनीमा उखुको रस प्रशोधन गरेर दैनिक खुदो र गुड बनाउने काम भइरहेको छ । यसरी बनाएको गुड प्रतिकिलो तीनसय रूपैयाँ र खुदो प्रतिलिटर १८० रूपैयाँ मूल्य पर्छ ।
गाउँले ग्रुपको उद्योगमा हाल १५ जना व्यक्तिहरु प्रत्यक्षरुपमा रोजगारीमा जोडिएका छन् । गाउँमै उखुबाट समृद्धि खोज्न थालेका न्यौपानेले कम्पनीमार्फत पाँच महिनाको अवधिमा एक करोड मूल्यभन्दा बढीको गुड र खुदो बिक्री भइसकेको बताए । उनले भने, ‘बजारमा गुड र खुदोको माग धेरै आउने गरेको छ, राम्रो गुणस्तरको भएर होला उपभोक्ताहरुले पनि खोजी खोजी लैजाने गर्नुहुन्छ, कहिलेकाहीँ काग धेरै भएको समयमा हामीलाई माग पुर्याउन पनि धौधौ पर्छ ।’
कृषि ज्ञानकेन्द्र गुल्मीका वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश मरासिनीले अनुसार यस वर्ष जिल्लामा पाँच करोड ७० लाख बराबरको गुडखुदो बिक्री भइसकेको बताए । जसअनुसार जिल्लाभित्र दुई करोड बराबरको खपत भएको छ भने तीन करोड ७० लाखको गुड खुदो बाहिर निर्यात भएको बताइएको छ । जिल्लाको छत्रकोट र रुरुक्षेत्रमा १९६ हेक्टर क्षेत्रफलमा कृषकहरुले उखु खेती गर्दै आएका छन् । जिल्लामा यसवर्ष ५९४ मेट्रिकटन भन्दा धेरै गुड र खुदो उत्पादन भएको छ । रुरुक्षेत्र र छत्रकोटमा कुल ६२५ घरधुरीका कृषकहरु व्यावसायिकरुपमा उखु खेतीमा जोडिएका छन् ।
सत्यपाटी