२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

पाँच वटा प्रदेशमा भारी वर्षा, बाढीबाट कसरी सुरक्षित रहने ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असार २७ गते शुक्रबार

देशका विभिन्न भूभागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । विभागका अनुसार राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभाग साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ ।

बाढीबाट कसरी सुरक्षित रहने ?

मनसुन सुरु भएसँगै बाढी र पहिरोका घटना बढ्न थालेका छन् । भारी र धेरै भारी वर्षासँगै आउने बाढी र पहिरोले जनधनको क्षति हुन थालेको छ । मंगलबार रसुवामा आएको बाढीबाट नै ठूलो परिमाणमा जनधनको क्षति भयो ।

यो त पछिल्लो उदाहरण मात्रै हो, मनसुनमा जुनसुकै समय बाढी र पहिरोको उच्च जोखिम रहन्छ । मनसुन सिजनमा मौसम हेरेर मौसम तथा बाढीको पूर्वानुमान सूचनाबारे जानकारी लिनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सुरक्षित स्थान पहिचान गरेर बस्न र बाढी आएको अवस्थामा उक्त स्थानमा तत्काल गएर बस्नुपर्ने विभागको भनाइ छ । आपतकालीन नम्बरहरू लेखेर साथमा राख्नुपर्ने र आवश्यक परे सहयोगका लागि सम्पर्क गर्न विभागको आग्रह छ ।

खोलाको छेउ र पुलबाट टाढा रहन विभागको सुझाव छ । ‘बाढी आएको अवस्थामा घर फर्किनुअघि सरोकारवाला निकायका अधिकारीको स्वीकृति पर्खनुपर्छ,’ विभागले भनेको छ, “घरको संरचना र बिजुलीको तार जाँच गर्नुपर्छ ।’ घर सफा गरेर मात्र घरमा बस्नुपर्ने विभागले जनाएको छ ।

बाढी आएको वा पानी परिरहेको समयमा नदी तटीय क्षेत्रमा नबस्न नदीको कोरिडोरबाट यात्रा नगर्न विभागले आग्रह गर्दै आएको छ । बाढी आएको समय होचा तथा डुबान भइरहने भूभागमा बस्न नहुने र बाढी आएको समयमा आसपासका क्षेत्रमा आवतजावत गर्न नहुने विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रबार