२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

भेरी र हिमा नदीमा दुई जना बेपत्ता

सत्यपाटीसत्यपाटी । कर्णाली । २०८२ असार २६ गते बिहीबार

बुधबार सुर्खेत र जुम्लामा भएका दुई छुट्टाछुट्टै घटनामा एक वृद्ध र एक बालक नदीमा बेपत्ता भएका छन् । सुर्खेतमा एक ६० वर्षीय वृद्धले भेरी नदीमा हाम फालेका छन् भने जुम्लामा पाँच वर्षीय बालकलाई हिमा नदीले बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी मोहनजंग बुढथापाका अनुसार, गुर्भाकोट नगरपालिका–११ सिमखोलीका ६० वर्षीय गोपाल वलीले दिउँसो करिब २ः२० बजे गुर्भाकोट–१०, भेडावारीस्थित भेरी नदीको पुलबाट हाम फालेका हुन् ।

सूचना अधिकारी बुढथापाले घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मेहलकुनाबाट प्रहरी सहायक निरीक्षक भुपेन्द्र अधिकारीको कमाण्डमा पाँच जनाको टोली खटाएर खोजी कार्य सुरु गरिएको बताए । हाल प्रहरी र स्थानीयको सहयोगमा उनको खोजी भइरहेको छ, तर उनको अवस्था अज्ञात छ ।

यस्तै, जुम्लाको हिमा गाउँपालिका–७ बागबजारमा स्थानीय अभेन्द्र शाहीका पाँच वर्षीय छोरा यमन शाहीलाई हिमा नदीले बगाएर बेपत्ता बनाएको छ । प्रहरीका अनुसार यमन दिउँसो करिब २ः५० बजे नदी किनारमा बालुवा खेल्दै गर्दा अचानक नदीले बगाएको थियो ।

घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोष्ट जुगार्डबाट प्रहरी निरीक्षक डेनी थापाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको छ । प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा बालकको खोजी कार्य तीव्र पारिएको छ । तर, नदीमा पानीको बहाव बढेकाले खोजीमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असार २६ गते बिहीबार