२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

थबाङ गाउँपालिकाका हाकिमसहित सात कर्मचारी सम्पर्कविहीन

सत्यपाटीसत्यपाटी । रोल्पा । २०८२ असार २६ गते बिहीबार

रोल्पाको थबाङ गाउँपालिकामा अचम्मको र चिन्ताजनक घटना घट्यो–प्रमुख प्रशासकीय अधिकृतसहित सातजना कर्मचारी सम्पर्कविहीन बने । जसको जानकारी गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढामगरले विज्ञप्तिमार्फत् गराए । असार मसान्त योजनाको भुक्तानी गर्ने समयमा प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारी कार्यालयको सम्पर्क बाहिर रहेको भन्दै अध्यक्ष बुढामगरले विज्ञप्ति जारी गरी कर्मचारीलाई सम्पर्कमा ल्याइदिन सार्वजनिक अपील गरेका छन् ।

२०८२ असार २४ गते बिहानदेखि थवाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । गाउँपालिकाले सार्वजनिक रूपमा प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसहित आर्थिक प्रशासन प्रमुख, सव–इन्जिनियर, लेखापाल, प्रशासन शाखा प्रमुख, खा.पा.स.टे र सवारी चालक असार २४ गते बिहानदेखि सम्पर्कविहीन रहेको जानकारी दिएको छ ।

थवाङ गाउँपालिकाको कार्यालयका अनुसार मिति २०८२ असार २३ गते राति ९ बजे प्रमुख प्रशासकीय अधिकृत ओटिपी कोड प्राप्त गर्न रुकुमपूर्व जाने नाममा कार्यालयबाट निस्किएका थिए । नेपाल टेलिकमको नेटवर्क समस्या रहेको जनाउँदै उनीहरूले कार्यालय सम्पर्क गर्न नसकेको भनिए पनि भोलिपल्टदेखि नै फोन अफ हुनु र कार्यस्थलमा अनुपस्थित रहनु संयोग मात्र होइन भन्ने धेरैको ठम्याइ छ ।

गाउँपालिकाभित्र सम्पन्न नभएका योजनाहरूको भुक्तानी दिन राजनीतिक तहबाट दबाब परेपछि प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारीहरू हराएको भन्ने तथ्य सार्वजनिक भइरहेका छन् । स्रोतहरूका अनुसार योजनाहरू कागजमा मात्रै सम्पन्न देखाइएका छन्, जबकि भौतिकरूपमा ती कार्यहरूमध्ये धेरैजसो अझै अधूरै छन् । थबाङ गाउँपालिकामा हालै सम्पन्न भनिएका केही योजना अझै भौतिकरूपमा अधूरा छन् । कर्मचारी सम्पर्कविहीन भएपछि कार्यालयको नियमित कामकाज प्रभावित भएको बताइएको छ ।

तर ती अधूरा योजनाहरूको बिल भुक्तानीका लागि प्रमुख प्रशासकीय अधिकृतमाथि राजनीतिक तहबाट तीव्र दबाव दिइएको थियो । स्रोतहरूका अनुसार प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरले काम सम्पन्न नभएको देखाउँदै अनावश्यक भुक्तानीमा सहमति जनाउन मानेनन् । त्यसै रात, असार २३ गते, उनी ओटिपी कोड लिन रुकुमपूर्व जाने नाममा कार्यालयबाट निस्के । भोलिपल्टदेखि सम्पर्कविहीन छन् । उनीसँगै सम्पर्कविहीन रहेको अन्य ६ जना कर्मचारीको खोजी गर्दा नभेटिएको र सबैको मोबाइल स्विच अफ रहेको गाउँपालिकाले जनाएको छ ।

सम्पर्कविहीन हुने कर्मचारीहरू

१. हेमराज घर्तीमगर (प्रमुख प्रशासकीय अधिकृत)
२. हरिश माझी (सहायक प्रशासन पाँचौं)
३. यज्ञप्रसाद कँडेल (सह–लेखापाल)
४. चन्द्रप्रकाश ओली (सव–इन्जिनियर)
५. निशा आचार्य
६. शिवकुमार वली
७. प्रदीप केसी (सवारी चालक)

प्रकाशित मिति : २०८२ असार २६ गते बिहीबार