सल्यान श्रीनगरका ३१ वर्षीय राजेश थापा कामको खोजीमा भारत गएका छन् । दसैँ, तिहारको खर्च जुटाउन पनि बिदेसिनुपरेको उनले बताए । नेपालगन्ज हुँदै भारत हिँडेका उनले भने, ‘परदेश गएर अर्काको भारी बोक्ने इच्छा त कसलाई पो हुन्छ र ! छोराछोरीको रहर पूरा गर्न र दसैँ, तिहारमा एक छाक मिठो, मसिनो खानका लागि अर्कोे विकल्प छैन ।’
उनले भारतको हिमाञ्चल प्रदेशको काला पहाड अर्थात् सिम्लातिर हिँडेका छन् । उनले यसअघि सिम्ला गएर स्याउ टिप्ने काम गरेका थिए । अहिले फेरि सात जना युवाको समूह बनाएर सिम्ला जाँदैछन् । घरको काम सकेर यतिबेला सुर्खेत, सल्यान, जाजरकोट, दैलेख लगायतका जिल्लाका विभिन्न ठाउँबाट नागरिकहरु भारततर्फ जान थालेका छन् ।
गाउँमा केही रोजगारी नभएपछि उनीहरु मजदुरीका लागि भारततिर जान सुरु गरेका हुन् । चिङ्गाड गाउँपालिका–१, सुर्खेतका कमल राना रोपाइँ सकेर अब मजदुरी गर्न भारततिर जान थालेको बताउँछन् । स्थानीय चिङ्गाड बजारमा भेटिएका रानाले गाउँमा कुनै रोजगारीको अवसर नहुँदा बर्षात् र हिउँदको समयमा मजदुरीका लागि भारत जानुपर्ने बाध्यता भएको बताए ।
उनले असारमा धान रोपेर जान्छौं, दसैंका बेला आउँछौं । कात्तिकमा भित्र्याउने र मङ्सिरमा गहुँ छरेर बालबालिकाको पढाइ खर्च र घरपरिवारको लुगाफाटोका लागि भारत जाने गरेको सुनाए । कमलसँगै भारत जाँदै गरेका हरिप्रसाद बिकले पनि स्थानीय सरकारको मनोमानीले रोजगारी गुमेका कारणले वर्षमा दुई सिजन मजदुरीका लागि भारत जाने गरेको बताए ।
चिङ्गाड गाउँपालिकाले प्रायः बजेट भेला शिविरमा खर्च गर्ने र सडक निर्माणका काममा स्काभेटर प्रयोग गर्ने भएकाले गाउँमा काम गर्ने अवसर नपाएको बिकले गुनासो गरे । अलि भएका योजनामा पनि उपभोक्ता आफू नजिकका बनाउने र उनीहरुले विभिन्न बहानामा आफ्ना मान्छेलाई मात्र काम गर्ने अवसर दिने गरेकाले हामी प्रायः सबै सर्वसाधारण रोजगारीका लागि भारत जानुपरेको नागरिकको गुनासो छ ।
यतिबेला कर्णालीका अधिकांश जिल्लाका नागरिक बसमा भरिभराउ भएर भारततर्फ गइरहेका छन् । सल्यान श्रीनगरकै ३४ वर्षीय प्रेम सिंह पनि भारतको सिम्लातिर हिँडेका छन् । हिजोआज नेपालगन्ज नाकामा आउजाउ गर्नेको भिड बढेको छ । गंगादेवी गाउँपालिका–४, पाखापानी रोल्पाका धनबहादुर डाँगीले दैनिक ५०० भारतीय रुपैयाँ ज्याला पाउने आशामा साथीभाइसँगै सिम्ला हिँडेको प्रतिक्रिया दिए ।
डाँगीले देशमा रोजगारी नभएपछि बाध्य भएर अर्काको देशमा गएर श्रम गर्नुपरेको दुःखेसो गरे । रोजगारीका लागि नेपालगन्जस्थित जमुनाह नाका भएर भारत छिर्ने नेपाली युवाको सङ्ख्या बढ्दै गएको छ । अहिले दैनिक ५०० देखि ७०० सम्म नेपाली कामका लागि भारततर्फ गइरहेको बताए । अहिले भारत जानेमध्ये केही दसैँ र तिहारमा फर्किने तथा अधिकांश होलीमा फर्किने नाकामा भेटिएकाहरू बताउँछन् ।
जाजरकोट पाँचकटियाका गोर्खबहादुर सिंहले आफूहरू अब दसैँ मनाउन फर्किने बताए । कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका युवा अहिले फेरि ठुलो सङ्ख्यामा दैनिक रोजगारीका लागि जमुनाह नाका भएर भारततर्फ गइरहेको इलाका प्रहरी कार्यालय, जमुनाहले जनाएको छ । जमुनाहका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले केही दिनयता आएर फेरि रोजगारीको सिलसिलामा भारत जाने नेपालीको सङ्ख्या बढ्दै गएको बताए ।
पहाडी जिल्लामा खेती सकिएको र खेती सकिएपछि काम नभएकाले रोजगारीका लागि भारतका विभिन्न स्थानमा गइरहेको नाकामा भेटिएका नेपाली युवाको भनाइ छ । भारत जान नाकामा पुगेका अधिकांश नेपालीले हिमाञ्चल प्रदेशको सिमला जान लागेको बताउने गरेको इलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ । आफ्नै देशमा राम्रो रोजगारीको व्यवस्था नहुन्जेलसम्म कामका लागि बाध्य भएर भारत जानुको विकल्प नरहेको अधिकांशको भनाइ छ ।
पछिल्लो समय भारतको सिम्ला जाने नेपालीको संख्या बढ्दै गएको इलाका प्रहरी कार्यालय जमुनहाका इन्चार्ज प्रमुख प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए । उनले दैनिक ५०० देखि ७०० नेपाली भारत जाने गरेको बताए । उनले भने, ‘रोजगारी खोज्दै भारत काम गर्न जानेमा अधिकांश २० देखि २५ वर्षका युवा धेरै छन् ।’ नेपालमा काम नपाएपछि कामका लागि भारत जान लागेको भन्ने युवाको संख्या धेरै भएको उनले बताए ।
सत्यपाटी