२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

माथिल्लो मुस्ताङमा ताल फुटेको आशंका

सत्यपाटीसत्यपाटी । मुस्ताङ । २०८२ असार २५ गते बुधबार

वर्षा नभएकै अवस्थामा आएको बाढीले हिमालपारिको जिल्ला मुस्ताङको माथिल्लो भेगका भौतिक संरचनामा क्षति पुगेको छ । लोमान्थाङ गाउँपालिका–४ स्थित चुम्जुङ (छुआमा खोला समेत भनिने) खोलामा मंगलबार बेलुकीपख एकाएक बाढी आएको थियो ।

नेपाल–चीन सीमा क्षेत्रमा रहेको उक्त खोलामा एकाएक बाढी आउँदा तीन वटा काठेपुल, एउटा मोटरेवल फलामे पुल, दुई वटा पक्की पुल र स्ल्याबमा समेत क्षति पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । उनका अनुसार डोल्पा, तिब्बत र मुस्ताङको सीमानाबाट उक्त खोला बगेर आउँछ ।

खोला काली गण्डकीमा मिसिन्छ । बाढीको जोखिम बढेपछि छोसेरस्थित खोला किनारका दुई वटा घरका चार जनालाई अन्यत्र सारिएको पनि प्रशासनले बताएको छ । खोला कालिगण्डकी नदीमा मिसिने हुँदा नदी आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित रहनका लागि जानकारी गराइएको पनि प्रजिअ भुसालले बताए ।

‘मंगलबार बेलुकी एकाएक खेलाको वहाव बढ्यो । माथिल्लो क्षेत्रमा केही पुलमा पनि क्षति गरेको रहेछ । पुल बगाउने गरि खोलाको बहाव बढेको थियो,’ उनले भने, ‘खोलामा बाढी नै आउनेगरि वर्षा भएको त होइन । तर, बाढीले क्षति भनेको गरेको छ । थप क्षति नहोस भनेर कालिगण्डकी आसपासका बासिन्दालाई सचेत गराएका छौं ।’

उनका अनुसार खोलाको सिरान क्षेत्रमा ताल रहेको छ । त्यही ताल फुट्दा खोलाको वहाव एकाएक बढेको आशंका रहेको छ । प्रजिअ भुसालका अनुसार वर्षाबिना खोलाको वहाव बढेपछि प्रशासनले खोलाको सिरान क्षेत्रको अवस्था बुझ्न टोली नै पठाएको छ । स्थानीय तह, स्थानीय बासि र प्रहरीसहितको टोली फुटेको आशंका गरिएको तालको अवस्था बुझ्न गएका छन् ।

‘ताल फुटेको हो वा होइन भन्ने थाहा पाउनका लागि गाउँपालिका र प्रहरी सहितको टोली गएको छ । टोलीले त्यसबारेमा यथार्थ जानकारी दिनेछ,’ भुसालले भने, ‘अहिले नै बाढी कसरी आयो भनेर भन्न सकिन्न ।’

लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङका अनुसार समुन्द्री सतहदेखि करिब ५५ सय मिटर माथि छो ल्योङ जो ताल रहेको र त्यही तालमा माथिबाट खसेको हिउँको ठुलो ढिस्को बज्रिदा ताल विस्फोट भएको वा तालको पानी छचल्किएर खोलामा बाढीको रुप लिएर बगेको हुनसक्ने सम्भावना छ ।

‘खोलामा यो आकारको बाढी आउने गरि पानी परेको छैन । पछिल्लो ६ दिनदेखि खासै पानी परेको पनि छैन । तर, घामले गर्दा हिउँको ढिस्को खसेको र त्यही ढिल्लो तालमा बजारिँदा ताल ओभरफ्लो भएर बाढीको रुपमा बगेको हुनसक्ने उनको अनुमान छ ।

‘हिउँको ढिस्को बजारिँदा ताल फुटेको पनि हुनसक्छ, तालमा हिउँको ढिस्को थपिएपछि पानी छचल्किएर वा खसेको हिउँ पग्लेपछि पानीको आकार ओभरफ्लो भएर बगेको पनि हुनसक्छ,’ अध्यक्ष गुरुङले भने, ‘नत्र पानी नै नपरेको अवस्थामा यसरी खोलामा बाढी आउनुपर्ने अरु कुनै कारण थिएन ।’

खोलाको सिरानमा ताल रहेकोबारे आफुहरुलाई पहिल्यै जानकारी भएको तर, त्यो ठाउँसम्म यसअघि आफु कहिल्यै नगएको पनि अध्यक्ष गुरुङले बताए । मंगलबार बाढी आएको भएपनि बुधबार भने माथिल्लो क्षेत्रमा वर्षा नभएको प्रजिअ भुसालले बताए ।

‘खोला किनारका धिँगाउँ, चराङ, सुर्खाङ तथा कालिगण्डकी किनारका कागबेनी, एक्लेभट्टि, जोमसोम, मार्फा, कोवाङ लगायतका क्षेत्रका बासिन्दालाई सुरक्षित रहन प्रशासनले अनुरोध पनि गरेको छ ।

प्रकाशित मिति : २०८२ असार २५ गते बुधबार