२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

पानी पर्दा रातभर निन्द्रा लाग्दैन, घर छोडेर जाने ठाउँ कतै छैन

सत्यपाटीसत्यपाटी । मुगु । २०८२ असार २५ गते बुधबार

तीन वर्षअघिको बाढीले कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला मुगु, सोरु गाउँपालिका–८ तारापानीकी स्थानीय चन्दा योगीको पाँच कठ्ठा जग्गा बगाइदियो । अहिले पनि आकाशमा कालो बादल मडारिँदा मुटु हल्लिन्छ । पुरानो घटना सम्झिन्छिन् । यस वर्षको मनसुन शुरु भइसक्यो । पानी पर्न थाल्यो । समस्या ज्यूँका त्यूँ छ । राती पानी पर्यो भने आफूलाई लाग्ने डर त छँदै छ बच्चाहरूले ‘घर छोडेर जाम आमा’ भन्दा चन्दाको मुटु भक्कानिन्छ ।

घर छोडेर जाने सुरक्षित स्थान कतै छैन । पहाडको खोँचबाट आएको बाढीले फराकिलो बनाएको रुम खोलो बस्ती नजिकै भएर बगेको छ । बस्तीको तलपट्टि मुगु कर्णाली गड्गडाएर झनै डरलाग्दो छ । तारापानीसँगै जोडिएको सीप गाउँको विजय आधारभूत विद्यालयको भवन जीर्ण छ । नजिकै अस्थायी प्रहरी पोष्ट छ । पोस्टको दुईतर्फ खोला छन् । अस्थायी प्रहरी पोष्ट पनि कतिखेर कटानमा पर्ने हो थाहा छैन । अगाडि मुगु कर्णाली सुसाइरहेको छ ।

सम्भावित जोखिम सम्झेर बोल्दाबोल्दै आँखा चिम्म गर्छिन् चन्दा, ‘राती ठूलो पानी पर्यो भने हामीलाई निन्द्रा आउँदैन । घरभित्र र घरबाहिर गरेर बस्छौँ । घर छोडेर जाउँ भनेर बच्चा कराइरहन्छन् । पानी पर्यो भने हामीलाई पनि डर लाग्छ । बच्चा त झनै डर मान्छन् । कता जाने ? सरकारी भवन जाउँ भने पनि त्यो पनि जोखिममा छ । प्रहरी चौकी पनि दोहोरो खोलाको जोखिममा छ । तल पनि जोखिममा नै छ । हामी सबै जोखिममा परेका छौ । हामीलाई तटबन्ध गरेर सहयोग गरे हुन्थ्यो । ’

पहिरोले खेतबारी बगाएपछि स्थानीय गैह्रसरकारी संस्थाले गरेको सहयोगले प्रभावितको जीविकोपार्जनलाई सहयोग पुगेको छ । संस्थाले बाढी पहिरोले उबडखाबड भएको जमिन सम्याउन कृषि औजार दियो, विपद्मा उद्धारका सामग्री थियो । विपद्मा ज्यान जोगाउन सिकायो । सिँचाईको व्यवस्था गर्यो । अहिले तरकारी खेती गर्न सहज भएको छ । जीविकोपार्जन त सजिलो भयो तर जोखिम उस्तै छ । तटबन्ध बनाउन पाए ढुक्कसँग निदाउन सकिने थियो भन्ने लागेको छ चन्दालाई ।

उनी भन्छिन् ‘तीन वर्षअघि आएको बाढीले पाँच कठ्ठा जग्गासहित घर पनि बगाइदियो । जिएसएस संस्थाले कृषि औजार पनि दियो । कुलो बनाइदिएको छ । अहिले धान, गहुँ रोप्छौँ । तरकारी खेती पनि गर्छौं । तरकारीको टनेल, बीउ दिनुहुन्छ । तालिम दिनुहुन्छ । अहिले एकदम सजिलो भएको छ । बाटोघाटो पहिरोले बन्द गर्यो भने समूह गएर मिलेर पहिरो पन्छाउने गर्छौं । तर हामी अहिले पनि जोखिममा छौ । तटबन्ध गर्न सहयोग गरे हुन्थ्यो ।’

हरेक वर्षको मनसुनमा खोलाले धार परिवर्तन गरी बस्तीतर्फ सोझिएको छ । बसाई सर्ने विकल्प छैन । तटबन्ध छैन । राती पानी पर्यो भने तारापानी बासी निदाउन सक्दैनन् । तटबन्ध गर्न स्थानीयवासीले संघ,प्रदेश, पालिका, वडा सबैसँग हारगुहार गरे । तर कसैले सुनेनन् । स्थानीय विजय रावल विपद्को तालिमसहित उद्धारका सामग्री पनि दिएको स्थानीय गैह्रसरकारी संस्थाले तटवन्ध पनि गरिदिए हुन्थ्यो भन्छन् ।

‘हिजो त्यत्रो पानी पर्यो । खोला नजिकको बस्ती भएकाले पानी पर्ने बित्तिकै हामी जोखिममा पर्छौ । त्यसैले तटबन्द गरिदिए हुन्थ्यो जस्तो लाग्छ । गाउँपालिकासँग माग गरियो । वडामा माग गरियो । संघ प्रदेशलाई भन्दा पनि सुन्दै सुनि दिँदैनन् । यो संस्थाको सहयोग जारी रहे हामीलाई अलिकति राहत मिल्थ्यो कि ? संस्थाबाट नै केही काम हुन्थ्यो कि भन्ने हामीलाई आश लागिरहेको छ,’ रावलले भने, ‘जिएसएस संस्थाको सहयोगबाट बाटो मर्मत गरियो ।’

उनका अनुसार अहिले सिँचाईको पनि व्यवस्था गरिएको छ । उनी भन्छन्, ‘विपद्को तालिम लिएका छौँ । हामीले आठ वटा कृषि औजार पाएका छौ । एकजनाको घरमा राख्दा चोरी हुने डरका कारण विपद् उदारको लागि संस्थाले दिएका सामानहरू प्रहरी चौकीमा राखेका छौ ।’ विक्रम सम्वत २०७९ भन्दाअघि तारापानी गाउँ हराभरा थियो । २०७९ असोज १८ गतेको बाढीले गाउँको हरियाली मात्रै नष्ट गरेन स्थानीयको सम्पत्तिमा ठूलो क्षति गर्यो ।

६० घरधुरी रहेको तारापानीका सात घर बाढीले पूर्णरुपमा ध्वस्त बनायो । बाढी प्रभावित तारागाउँ बासीले अहिलेसम्म राहतको नाममा सरकारबाट केही पाएका छैनन् । पीडितको तथ्यांक मिलेन भनेर स्थानीय सरकारले ३ वर्ष भईसक्दा पनि राहत वितरण प्रक्रिया अघि बढाएको छैन । स्थानीय जिएसएस संस्थाले तारापानी विपद् समूह गठन गरी विपद् प्रतिकार्यमा स्थानीयलाई जुटायो ।

खोलाको पानी डाईभर्सन गरेर सिँचाई, पहिरो नियन्त्रणका लागि वृक्षारोपण, विपद् प्रतिरक्षाको तालिम, विपद् उद्धारका सामग्री लगायतमा स्थानीय गैह्रसरकारी संस्थाको सहयोग पाएपछि अहिले तारापानीबासी आफैँ विपद् व्यवस्थापनमा जुटेका हुन् । स्थानीय मानबहादुर बुढा सरकारले भन्दा संस्थाले ठूलो सहयोग गरेको बताउँछन् । नीयतहमा काम गर्दै आएको जिएसएस संस्थाले दिएको विपद् उद्धार सामग्रीलाई अस्थायी प्रहरी पोष्टको कार्यालयमा राखिएको छ ।

अस्थायी प्रहरी पोष्ट तारापानीका प्रहरी हवलदार चन्द्रबहादुर जिसी भन्छन्, ‘विपद्को समयमा समन्वय गर्न सजिलो होस् भनेर समूहले उद्धारका सामानहरू जिम्मा लगाउनुभएको छ त्रिपाल, लाईफ ज्याकेट, डोरी, बुट, रेनकोट लगायत विपद् उद्धारका सामानहरू संस्थाले हामीलाई जिम्मा लगाउनुभएको छ । यहाँ बाढीको जोखिम छ । विपद्को समयमा छिटो छरितो होस् भन्नका लागि हामीले तयारी अवस्थामा राखेका छौ ।’

उनका अनुसार पानी पर्यो भने माथिबाट ढुंगा झर्ने, अनि अगाडि नै खोला भएकाले बाढीको पनि जोखिम छ । सोरु गाउँपालिकाका अध्यक्ष धरमबहादुर शाही दुर्गम कर्णाली प्रदेशका हिमाली जिल्लाका गाउँपालिकाहरूमा पर्याप्त बजेट अभावका कारण जन चाहनाअनुसार विकास गर्न नसकिएको बताउँछन् । उनले दुर्गम क्षेत्रको विकास निर्माणको काममा गैह्रसरकारी संस्था र निजी क्षेत्रलाई आकर्षित गर्न केन्द्र सरकारले राम्रो सहजीकरण गर्नुपर्ने बताए ।

‘म आफैँ पनि स्थानीय सरकारको प्रमुख हो । तीनै तहको सरकारसँग मेरो अनुरोध छ, हामीले निजी क्षेत्र र संघसंस्थालाई सहजीकरण गरेर विकास निर्माणका कामहरूमा सहकार्य गर्नुपर्छ । नेपाल सरकारको बजेटले मात्रै पूर्वाधारका कामहरू गर्न नसक्ने भएकाले दुर्गम र पछाडि परेका क्षेत्रको भौतिक पूर्वाधार निर्माण लगायत विकासका कार्ययोजनाहरूमा संघसंस्थालाई संलग्न गराउनुपर्छ,’ उनले भने ।

प्रकाशित मिति : २०८२ असार २५ गते बुधबार