२०८३ असोज २४ , शनिबार 11, October 2026, Sunday

स्वास्थ्य बीमा : जटिल रोगका बिरामीलाई दुई लाख रुपैयाँको उपचार

आठ जटिल रोगका बिरामीले हाल पाइरहेको स्वास्थ्य बीमा एक लाखमा थप एक लाख गरी दुई लाख रुपैयाँ पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलका अनुसार क्यान्सर, मुटु, मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्न सक्ने छन् ।

उनले बुधबार बिहान आफ्नो सामाजिक सञ्जालमा लेखेस्वास्थ्य बीमा कार्यक्रममा आबद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने बताएका हुन् । ‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ साउन १ गतेबाट आठ प्रकारका बिरामीले हाम्रो पूर्व प्रतिबद्धता अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत दुई लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौँ,’ उनले लेखेका छन् ।

मन्त्री पौडेलले यसअघि आठ जटिल रोगका बिरामीलाई राहत हुने हिसाबले रकम वृद्धि गर्ने घोषणा गरेका थिए । सोहीअनुसार मन्त्रालयले स्वास्थ्य बीमा बोर्डलाई पत्राचार गरेको थियो । मंगलबार राति बसेको बोर्ड बैठकले आठ जटिल रोगीलाई दुई लाख उपचार खर्च दिने निर्णय गरेको कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले जानकारी दिए । उनका अनुसार यो व्यवस्था साउन १ गतेदेखि लागू हुनेछ ।

प्रकाशित मिति : २०८२ असार २५ गते बुधबार