हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सबै प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना छ ।
आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज पनि बिहानैबाट देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । चितवन, दाङ, गुल्मी लगायत स्थानमा वर्षा भइरहेको हो । मौसमविद् सञ्जीव अधिकारीका अनुसार बिहान साढे ७ बजे चितवन र आसपासका क्षेत्रमा हल्का वर्षा भइरहेको छ । ‘दाङमा पछिल्लो एक घण्टामा ३२.६ र गुल्मीमा २७.४ मिलिमिटर वर्षा भएको छ,’ मौसमविद् अधिकारीले भने ।
उनका अनुसार यी स्थानमा अहिले पनि वर्षा भइरहेको छ । त्यस्तै महाशाखाका अुनसार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रही मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको तथा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
सत्यपाटी