२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

बाँकेका अति जोखिमपूर्ण १० ठाउँमा पूर्व सूचना दिने साइरन

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ असार २४ गते मंगलबार

बाढी र डुबानको उच्च जोखिम रहने बाँके जिल्लाका दुई गाउँपालिकाका अति जोखिमपूर्ण १० ठाउँमा विपद् पूर्व सूचना प्रणाली अन्तर्गत बाढीको पूर्व सूचना दिने साइरन जडान गरिएको छ ।

मनसुनमा आउने सम्भावित बाढीबारे समयमै चेतावनी दिन राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका तटीय क्षेत्रका १० स्थानमा सो साइरन जडान गरिएको हो । नरैनापुर गाउँपालिकाको–५ अन्तर्गत मटेहिया र गङ्गापुर तथा वडा नं.६ अन्तर्गत भगवानपुर र सोनवर्षामा साइरन जडान गरिएको छ ।

त्यस्तै राप्तीसोनारी गाउँपालिका–२ को दर्शनापुर, टिकुली र वडा नं.३ तथा ७ का अन्य ६ स्थानमा साइरन राखिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको सहकार्यमा साइरन जडान गरिएको गाउँपालिकाले जनाएका छन् । नदीले तोकिएको सतह नाघेपछि साइरनले स्वतः बाढीको जोखिमबारे सूचना दिने जनाइएको छ ।

यसले सर्वसाधारणलाई जोगिन ठुलो सहयोग गर्ने राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बताए । नरैनापुर गाउँपालिकाको विपद् व्यवस्थापन शाखा प्रमुख भरत महतोका अनुसार गत वर्ष नदीले सतह नाघेन, जसका कारण साइरन बजाउनु परेको थिएन ।

राप्ती सोनारी गाउँपालिकामा भने साइरनमार्फत सूचना प्रसारण भइरहेका छन् । गाउँपालिकाका सूचना अधिकारी जीवन न्यौपानेले केही दिनअघि लगातार तीन दिन परेको वर्षाले नदीको सतह उच्च भएपछि साइरनबाट जानकारी दिइएको बताए ।

प्रकाशित मिति : २०८२ असार २४ गते मंगलबार