२०८२ चैत १ , आइतबार 16, March 2026, Monday

भारी वर्षा नभएरै भोटेकोसीमा कसरी आयो भीषण बाढी ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असार २४ गते मंगलबार

भोटेकोसी नदीमा आएको भीषण बाढीले रसुवामा ठूलो क्षति पुगेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोसीमा ठूलो बाढी आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भोटेकोसीस्थित रसुवा–स्याप्रुबेँसी जलमापन केन्द्रमा मंगलबार (असार २४) बिहान ३ः३० बजे बाढी आइपुगेको थियो ।

बाढी बिहान ५ बजे त्रिशूली नदीस्थित वेत्रावतीमा आइपुगेको विभागले जनाएको छ । ‘प्रारम्भिक रूपमा यस बाढीको प्रभाव त्रिशूली नदीको बूढीगण्डकी दोभान (बेनिघाट) आसपाससम्म पर्ने देखिएकोले आज दिउँसोसम्मै सतर्कता जरुरी देखिएको छ,’ विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

बाढीबारे आफूहरूले अनुसन्धान गरिरहेको र सम्भावित कारणको अध्ययन थालेको महाशाखाका हाइड्रोलोजिस्ट सागर मिश्रले बताए । ‘हामीले अध्ययन, अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘प्रारम्भिक रूपमा हेर्दा भारी वर्षा भएको देखिँदैन ।’ उक्त बाढीको असर नुवाकोट जिल्लासम्म पर्न सक्ने उनले बताए ।

नुवाकोटवासीलाई समेत एसएमएसमार्फत सतर्क रहन आग्रह गरिएको उनले जानकारी दिए । तिब्बत र नेपालतर्फ पनि उक्त समयमा भारी वर्षा भएको नदेखिएको उनले बताए । ‘अध्ययनपश्चात् यसबारेमा हामी पछि विस्तृत जानकारी गराउनेछौँ,’ उनले भने ।

के हो सम्भावित कारण ?

पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्यायले पनि उक्त क्षेत्रमा भीषण वर्षा भएको नदेखिएको बताएका छन् । ‘विगत १२ घण्टाको मौसमी गतिविधि स्याटेलाइट तस्बिरहरूमा हेर्दा, तिब्बतको भूभागमा पर्ने केरुङ जलाधार क्षेत्रमा त्यस्तो भीषण वर्षा भएको देखिन्न,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

रसुवामा ठूलो बाढीका विभिन्न कारण हुन सक्ने उनले उल्लेख गरेका छन् । ‘त्यसैले रसुवागढीको बाढीको प्रारम्भिक कारण हेर्दा, ठूलो वर्षासँगै थप अन्य तीन कारण हुन सक्छन् । १) हिमताल विस्फोटन, २) हिमपहिरो वा ३) भीषण पहिरो जसले प्राकृतिक बाँध निर्माण हुन गई नदीको बहावलाई केही बेर रोक्यो र पछि बाँध फुटेर भीषण बाढीको रूप लियो । बाँकी आउँदो समयमा थाहा होला,’ उनले लेखेका छन् ।

हिमताल फुटेर रसुवामा बाढी आएको आशंका

हिमताल फुटेका कारण रसुवाको टिमुरे क्षेत्रमा बाढी आएको आशंका गरिएको छ । जल तथा मौसम विभागले मंगलबार बिहान एक विज्ञप्ति जारी गर्दै प्रारम्भिक रुपमा चिनियाँ क्षेत्रमा वर्षाकै कारण बाढी आएको नदेखिएको जनाएको छ ।

विभागले भनेको छ, ‘प्रारम्भिक रुपमा यस बाढी वर्षाको कारण उत्पन्न भएको देखिँदैन । भोटेकोशी नदी जलाधारको तिब्बतको क्षेत्रमा थुप्रै हिमतालहरू अवस्थित रहेकाले बाढीको सम्भावित कारण पत्ता लगाउन तथा नदी तटीय क्षेत्रमा थुप्रै हिमतालहरू अवस्थित रहेकाले बाढीको सम्भावित कारण पत्ता लगाउन नदी जलाधारको तिब्बतको क्षेत्रमा बाढीको असउर आकलनका लागि आज बिहान ९ बजे सेन्टिनेल एसिया प्लेटफममा तत्कालको भूउपग्रह तस्बिर प्राप्त गर्न इमरर्जेन्सी अब्जरभेसन रिक्वेस्ट जारी गरिएको छ ।’

प्रकाशित मिति : २०८२ असार २४ गते मंगलबार