२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

भोटेकोसीमा बाढी : तीन प्रहरीसहित १८ जना बेपत्ता, कति भयो क्षति ?

बाढीबाट सम्पर्कविहीन हुनेमा तीन प्रहरी, नौ नेपाली र ६ चिनियाँ नागरिक रहेका छन् ।
सत्यपाटीसत्यपाटी । रसुवा । २०८२ असार २४ गते मंगलबार

भोटेकोसी नदीमा आएको बाढीले रसुवामा ठूलो क्षति पुगेको छ । चीनतर्फबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने १८ जनामध्ये तीन प्रहरी छन् । इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारका लागि खटिएका तीनजना प्रहरी बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोसीमा ठूलो बाढी आएको थियो ।

भोटेकोसीस्थित रसुवा–स्याप्रुबेँसी जलमापन केन्द्रमा मंगलबार (असार २४) बिहान ३ः३० बजे बाढी आइपुगेको थियो । बाढी बिहान ५ बजे त्रिशूली नदीस्थित वेत्रावतीमा आइपुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बाढीले बिहान ४ बजे रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित नेपाल–चीन नाका जोड्ने मितेरी पुल बगाएको थियो । त्यहाँ मानिस र सवारीसाधनको आवतजावत बन्द भएको प्रहरी चौकी रसुवागढीले जनाएको छ ।

बिहान ०४ः४० बजे आएको बाढीले गोसाइकुण्ड–२ मा ईभी चार्जिङ स्टेसनमा क्षति पुगेको थियो । त्यहाँ रहेका सात–आठ ईभी गाडी बगाएको प्रहरीले जनाएको छ । यस्तै, भन्सार कार्यालय रसुवाको यार्डमा क्षति पुगेको छ ।

रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टिमुरेबाट उद्धारका निम्ति खटिएकामध्ये तीन प्रहरी सम्पर्कविहीन छन् । नौ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी एक–एक र स्थानीय बासिन्दा सातजना छन् ।

हालसम्म १८ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेमा तीन प्रहरी, नौ नेपाली र ६ चिनियाँ नागरिक रहेका प्रहरीले जनाएको छ । बिहान ७ः५० बजे गोसाइकुण्ड–५ स्थित पासाङल्हामु सडकखण्डमा बाढीका कारण बाटो चर्किएको छ । धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असार २४ गते मंगलबार