२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असार २४ गते मंगलबार

देशका सातवटै प्रदेशमा आज वर्षाको सम्भावना छ । हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

सबै प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । महाशाखाले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । वाग्मती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैबीच, गएराति देशका विभिन्न स्थानमा वर्षा भएको छ । पश्चिम नेपालमा वर्षा भएको हो ।

अछाम, कञ्चनपुर, जाजरकोट, सल्यान, रकुम पूर्व, कैलालीमा वर्षा भएको विभागले जनाएको छ । केही स्थानमा अहिले पनि वर्षा भइरहेको छ । अछामको गोपघाट, ओलीगाउँ वर्षा मापन केन्द्र र आसपासमा हल्कादेखि मध्यम वर्षा मापन भएको छ । थप वर्षा हुने सम्भावना भएकाले सो क्षेत्र भई बहने ससाना खोलामा आकस्मिक बाढी आउन सक्ने जनाइएको छ ।

महाशाखाले ती क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ भने कञ्चनपुरको ज्यामिरखाली, हनुमाननगर वर्षामापन केन्द्र र आसपासमा मध्यम वर्षा मापन भएको छ । जाजरकोटको डल्ली, रुकुम पूर्वको रुकुमकोट, सल्यानको काभ्रेनेटा र आसपासका वर्षामापन केन्द्रहरुमा हल्कादेखि मध्यम वर्षा मापन भएको छ ।

त्यस्तै ती क्षेत्रमा थप वर्षा हुने सम्भावना भएकाले सतर्क रहनुपर्ने महाशाखाले जनाएको छ । कैलाली बचिला वर्षामापन केन्द्र र आसपासका केन्द्रहरुमा मध्यम वर्षा मापन भएको छ । थप वर्षा हुने भएकाले सो क्षेत्र भइ बहने साना खोलामा आकस्मिक बहावको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन विभागको आग्रह छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

प्रकाशित मिति : २०८२ असार २४ गते मंगलबार