नेपालगन्जका विभिन्न मुख्य सडक र चोकहरुमा अहिले फेरि छाडा चौपायाको सङ्ख्या दिनदिनै बढ्न थालेको छ । सहरका अधिकांश मुख्य चोक र सडकमा अहिले फेरि छाडा घोडा, खच्चर र गाई गोरुको उपस्थिति बढ्दै गएको हो । छाडा चौपायाकै कारण सडक दुर्घटनाका चुनौती थपिनुका साथै आवागमन गर्ने यहाँका सर्वसाधारणलाई समस्या भइरहेको छ ।
केही समय सडकमा कम देखिएका छाडा चौपाया वर्षा सुरु हुने वित्तिकै फेरि सडक चोकमा जताततै देखिन थालेको स्थानीयले जनाएका छन् । मुख्य सडक र चोकहरुमा छाडा चौपायाको उपस्थितिले बेला बेलामा दुर्घटनाहरु समेत हुने गरेकाले सडकमा बाइक र गाडी गुडाउन समेत डर लाग्ने गरेको स्थानीयहरु बताउँछन् । सो समस्याप्रति पटक–पटक आवाज उठाए पनि समस्या समाधान नहुँदा सडकमा छाडा चौपाया झन् बढेका छन् ।
उपमहानगरका मुख्य चोकहरु त्रिभुवन चोक, धम्बोझी चोक, बिपी चोक, पुष्पलाल चोक र गणेशमान चोक लगायत सुर्खेत रोड र सदरलाइनमा सबैभन्दा बढी छाडा घोडा खच्चर, गाई र गोरु भेटिने गरेको नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठले बताए । उनले छाडा चौपाया नियन्त्रणका लागि स्थायी समाधान खोज्न स्थानीय सरकारसँग अनुरोध गर्दै कहिलेसम्म अवस्था यस्तै रहने भन्ने प्रश्न पनि गरे ।
घोडा, खच्चर र गाई गोरु जस्ता चौपाया पाल्नेहरुले नै ती चौपायालाई खुला छोडिदिने गरेकै कारण उनीहरु सडक र चोकहरुमा जताततै भेटिने गरेका छन् । बजारका पसल र घरका अगाडि ती जनावरले दिसा गरेर फोहर गर्दा व्यवसायमा पनि प्रभाव परेको नेपालगन्जको अति व्यस्त रहने सदरलाइनका व्यवसायी चुन्ना राईले बताए । उनले तत्काल यो समस्या समाधान गर्न उपमहानगरपालिकासँग आग्रह गरे ।
नेपालगन्जमा छाडा चौपाया राख्नका लागि काञ्जिहाउस भए पनि यसको उचित प्रयोग हुन सकेको छैैन । नेपालगन्ज उपमहानगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापन गर्न स्थायी समाधान खोज्ने प्रयासहरु भइरहेको जनाउँदै आएको छ तर पनि समस्या ज्युँका त्यु नै रहेको छ । मुख्य सडक नै छेकेर बस्ने छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिमसमेत बढ्दै गएको छ ।
छाडा चौपायाले सडक कब्जा गरेपछि सडक दुर्घटनाको चुनौती थपिनुका साथै सर्वसाधारणलाई आवागमनमा समस्या भइरहेको छ । नेपालगन्जको त्रिभुवन चोक, धम्बोझी चोक, बिपी चोक, पुष्पलाल चोक र गणेशमान चोक, सदरलाइन क्षेत्रमा छाडा चौपायाका कारण ती क्षेत्रमा दुर्घटनाको जोखिमसँगै आवागमनमा पटक–पटक अवरोधसमेत हुने गरेको सदरलाइनका व्यापारी दिपानन्द गुप्ताले बताए ।
छाडा चौपायाका कारण नेपालगन्जको ट्राफिक व्यवस्थापनमासमेत समस्या हुँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी निरीक्षक पुस्कर पन्तले बताए । जथाभावीरुपमा पशुचौपाया छाडा छाडिदिँदा दुर्घटनाको जोखिम बढेको उनले भने, ‘छाडा चौपायाले सडक दुर्घटनाको जोखिम बढेको छ । सम्बन्धित पशुधनीले आफैँ सडकमा पशु छाड्ने गर्दा समस्या भएको छ ।’
उनले पशुचौपाया घरमै बाँधेर राख्न पशुधनीहरुलाई आग्रह गरेका छन् । नेपालगन्जमा खुला सिमानाका कारण पनि छाडा पशुचौपाया व्यवस्थापनमा चुनौती थपिएको उनको भनाइ छ । नगरका चोकमा रहेका छाडा पशुचौपायालाई धपाउँदै पुरैनाको विर्तास्थित काञ्जीहाउसमा लिने गरे पनि नेपालगन्जमा छाडा पशु चौपायाका बारेमा दीर्घकालिन समाधान भने देखिँदैन ।
सत्यपाटी संवाददाता । बाँके