मुसलधारे वर्षाका कारण संयुक्त राज्य अमेरिकाको दक्षिण–मध्य टेक्सासस्थति ग्वाडालुप नदीमा ठुलो बाढी आएको छ । यसबाट कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ग्रीष्म शिविरबाट २० भन्दा बढी बालिकाहरू बेपत्ता भएका छन्, स्थानीय अधिकारीहरूले जनाएका छन् ।
अमेरिकी राष्ट्रिय मौसम सेवाले बिहीबार केर काउन्टीका केही भागहरूका लागि बाढीको आपत्कालीन अवस्था घोषणा गरेको छ । यो केर काउन्टी दक्षिण–मध्य टेक्सास हिल कन्ट्रीमा पर्छ र सान एन्टोनियोबाट लगभग १०५ किलोमिटर उत्तरपश्चिममा अवस्थित छ । यस क्षेत्रमा ३०० मिमिसम्मको भारी वर्षा भएको थियो ।
काउन्टी सिट केर्भिलका सहर प्रबन्धक डाल्टन राइसले पत्रकारहरूलाई बताएअनुसार अत्यधिक बाढी बिहानै, कुनै चेतावनीविना नै आएको थियो, जसले गर्दा अधिकारीहरूले कुनै पनि आदेश जारी गर्न सकेनन् । राइसले भने, ‘यो धेरै छिटो, धेरै छोटो समयमा भयो जसलाई राडारबाट पनि पूर्वानुमान गर्न सकिँदैनथ्यो । यो सबै दुई घण्टाभन्दा कम समयभित्र भयो ।’
लेफ्टिनेन्ट गभर्नर ड्यान प्याट्रिकले पीडितहरूको खोजीमा हालसम्म ६ देखि १० वटा शव फेला परेको बताए । यसैबिच, पत्रकार सम्मेलनमा, केर काउन्टी शेरिफ ल्यारी लिथाले बाढीबाट १३ जनाको मृत्यु भएको जानकारी दिए । प्याट्रिकले बताएअनुसार स्थानीय समयअनुसार बिहान करिब ४ बजे बाढीले बगाएको ग्रीष्म शिविरमा रहेका ७०० भन्दा बढी बच्चाहरूमध्ये २३ जना बालिकाहरू बेपत्ता भएका छन् ।
‘यसको अर्थ उनीहरूलाई गुमाएको भन्ने होइन, उनीहरू रुखमा हुन सक्छन्, उनीहरू सम्पर्क बाहिर हुन सक्छन्,’ उनले भने । मध्य केर काउन्टीमा रातभर कम्तीमा २५० मिमि वर्षा भएको थियो, जसले ग्वाडालुप नदीमा बाढी निम्त्यायो । ‘केही वयस्कहरू छन्, केही बच्चाहरू छन्,’ प्याट्रिकले पत्रकार सम्मेलनमा भने, ‘फेरि, हामीलाई ती शवहरू कहाँबाट आएका हुन् भन्ने थाहा छैन ।’ आपत्कालीन टोलीहरूले दर्जनौँ उद्धार कार्यहरू सञ्चालन गरेका छन् । बेपत्ता भएकाहरूको खोजी जारी रहेको छ ।
सत्यपाटी संवाददाता । टेक्सास