२०८२ चैत १ , आइतबार 16, March 2026, Monday

देशभर फैलिँदै डेंगी, महामारी फैलिने चेतावनी

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असार २१ गते शनिबार

गर्मी मौसम तथा वर्षायाममा देखिने डेंगी केही वर्षयता बाह्रै महिना देखिन थालेको छ । जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयको अवधि लम्बिनु, तापक्रममा असामान्य रुपमा वृद्धि हुनु, वर्षा चक्रको अनियमितताका कारण डेंगीको सङ्क्रमण बाह्रै महिना हुने गरेको विज्ञहरू बताउँछन् । डेंगीको सङ्क्रमण फैलाउने एडिस एजिप्टाई वा एडिस एल्बोपिक्टस जातको लामखुट्टेले विशेषगरी मनसुनको सफा पानीमा फूल पार्ने गदर्छ ।

तर पछिल्लो समय यो लामखुट्टे बाह्रै महिना सक्रिय हुनथालेसँगै डेंगी सङ्क्रमणको जोखिम पनि बाह्रै महिना हुने गरेको छ । चिसो हिमाली क्षेत्रसम्म पनि बिस्तारै यो फैलिँदै गएको पाइएको छ । यसले बिस्तारै हरेक खालको वातावरणमा रहनसक्ने क्षमता वृद्धि गरिहेकाले डेंगी सङ्क्रमण जनस्वास्थ्यको मुख्य चुनौतीको रुपमा देखिन थालेको विज्ञको विश्लेषण छ ।

डेंगी सङ्क्रमितको सङ्ख्या १६ सय नाघ्यो

नेपालमा डेंगी सङ्क्रमितको सङ्ख्या १ हजार ६०० नाघेको छ । सातवटै प्रदेशमा दिनप्रतिदिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । गत पुष महिनादेखि देखिन थालेको सङ्क्रमणबाट सबैभन्दा धेरै बागमती प्रदेशमा ४०४ जना बिरामी परेका छन् ।

त्यस्तै गण्डकी प्रदेशमा ३५८ जना, लुम्बिनी प्रदेशमा २७८, कोशी प्रदेशमा ३३४, मधेश प्रदेशमा ३१, कर्णालीमा ३६ जना सुदूरपश्चिममा २३२ जना गरी जम्मा १६ हजार १७३ जना बिरामी परेका छन् । महाशाखाका अनुसार गत साता मात्रै ७१ वटा नयाँ सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सबैभन्दा धेरै गण्डकी प्रदेशमा २० जना छन् ।

त्यस्तै कर्णालीमा भने हालसम्म एक जनामा डेंगीको सङ्क्रमण पुष्टि भएको छ । अहिलेकै अवस्थामा डेंगीको सङ्क्रमण बढ्दै गए गत वर्षको जस्तो अवस्था आउन सक्ने महाशाखाको चेतावनी छ । इडिसिडीको तथ्याङ्क अनुसार गत वर्ष ४५ हजार भन्दा बढीलाई सङ्क्रमण भएको थियो भने १५ जनाको मृत्यु भएको थियो ।

यस वर्ष पनि सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएकाले सावधानी अपनाउन महाशाखाका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले आग्रह गरेका छन् । ‘डेंगी रोकथाम तथा नियन्त्रणमा आम नागरिक सचेत नभइदिने हो भने गत वर्षको जस्तै हामीले समस्या भोग्नुपर्छ,’ उनले भने । अबका चार महिना अत्यधिक जोखिम हुने डा. दाहालको भनाइ छ ।

डेंगी नियन्त्रणका लागि भइरहेका प्रयास

सम्पूर्ण स्थानीय तहसँग समन्वय गरेर डेंगी नियन्त्रणमा लागि गर्नुपर्ने कामबारे कार्ययोजना बनेको डा. दाहालले बताए । ‘सोही अनुसार स्थानीय तहले सक्रियताका साथ आ–आफ्नो क्षेत्रमा काम गरिरहेका छन्,’ डा.दाहालले भने । उपत्यकामा काठमाडौं महानगरपालिकाले डेंगीलगायत वर्षायाममा लाग्ने रोग नियन्त्रणका लागि सम्पूर्ण वडामा भेला गरेको छ । बुढानिलकण्ठ नगरपालिकाले पनि विभिन्न कार्यक्रम गरेको जनाएको छ ।

नगरपालिकाका हरेक विद्यालयमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई हप्तामा एकदिन एउटा क्लास डेंगीको बारेमा राखिदिन आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख कुमारप्रसाद दाहालले बताए । उनका अनुसार उक्त क्लासमा डेंगी रोकथामका उपायबारे जानकारी दिँदै प्रत्येक शनिबार आफ्नो घर तथा घर वरिपरि जमेको पानी भए पोखिदिने र नियन्त्रणका लागि अपनाउनुपर्ने सावधानी जस्तै सुत्दा झुलको प्रयोग गर्ने लगायतको पालना गर्न आग्रह गर्ने गरिएको छ ।

त्यस्तै विभिन्न सराकारी तथा गैर सरकारी कार्यालयका कर्मचारीलाई पनि शुक्रबार आ–आफ्नो कार्यालयमा र शनिबारका दिनमा घर घरमा जमेको पानी पोख्न र घरवरिपरि सफा राख्न आग्रह गरिएको उनले बताए । कपन स्वास्थ्य चौकी, नगर अस्पताल लगायत नगरपालिका अन्तर्गतका विभिन्न सामुदायिक स्वास्थ्य संस्थामा आगामी मङ्सिर महिनासम्म निशुल्क डेंगी जाँचको व्यवस्था गरिएको छ । ज्वरो आउने जिउ दुख्ने लगायतका लक्षण देखिए डेंगी जाँच गराउन उनले सुझाव दिएका छन् ।

डेंगी रोगबाट कसरी बच्ने ?

लामखुट्टेको टोकाइबाट हुने डेंगी रोगका बिरामी नेपालमा केही समय यता बढीरहेका छन् । स्वास्थ्य मन्त्रालयले निम्न रोकथामका उपाय अपनाउन आग्रह गरेको छ ।

  • पूरा बाहुला भएको लुगा लगाउने
  • झुलभित्र मात्र सुत्ने
  • घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने
  • घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने
  • खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने
  • गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने
  • पानी जम्मा गर्ने भाडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने
  • साँझ र बिहान करेसाबारीमा जाँदा, घर बाहिर टहलिँदा, वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने
प्रकाशित मिति : २०८२ असार २१ गते शनिबार