गत पुसदेखि असार १८ गतेसम्म १ हजार ६७३ वटा डेँगुका केस पुष्टि भएका छन् ।सरकारका अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १८ गतेसम्म ७३ जिल्लामा गरी १ हजार ६७३ वटा डेँगुका केस पुष्टि भएका हुन् । शुक्रवार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले हिमाली चारजल्ला (डोल्पा, हुम्ला, मनाङ र रसुवा)मा भने यस वर्ष हालसम्म डेँगु संक्रमणको केस नपाइएको बताए ।
सबैभन्दा धेरै वागमती प्रदेशमा ४०४, गण्डकी प्रदेशमा ३५८, कोशी प्रदेशमा ३३४ वटा केस पुष्टि भएका छन् । जिल्लातर्फ सबैभन्दा धेरै काठमाडौंमा १७८ जना, कास्कीमा १३४, सुनसरीमा १०५ वटा डेँगुका केस दर्ता भएको बताए । प्रवक्ता बुढाथोकीका अनुसार डेँगु संक्रमण हुँदा उच्च ज्वरो आउने, जोर्नी र मांशपेसीहरू बेस्सरी दुख्ने, आँखाको गेडी दुख्नु, टाउको धेरै दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनु जस्ता लक्षणहरू देखिन्छन् । डेँगु संक्रमित करिव ८० प्रतिशत केसहरूमा लक्षण नदेखिने बताए ।
उनले ‘स्वास्थ्य बीमा ऐन, २०७४ को दोस्रो संशोधनको दफा ९ को उपदफा ६ तथा नियमावली २०७५ को प्रथम संशोधनको नियम २ को खण्ड ६ ले प्रथम सेवाबिन्दु सरकारी स्वास्थ्य संस्थामा मात्र रहने व्यवस्था गरेकाले विगतमा प्रथम सेवाबिन्दुको रुपमा विमितहरूलाई सेवा दिँदै आएका सरकारी बाहेकका अन्य सेवा प्रदायक स्वास्थ्य संस्थाबाट प्रथम सेवा बिन्दु हटाउने निर्णय भएको बताए ।
उनका अनुसार नेपालमा कोभिड–१९ को संक्रमण अन्य थप जिल्लाहरूमा पनि देखिन थालेको छ । २०८१ को पुस १७ गतेदेखि २०८२ को असार १८ गतेसम्म नेपालका ३१ वटा जिल्लाबाट कोभिड– १९ का २४३ केस दर्ता भएको बताए । प्रवक्ता बुढाथोकीले पछिल्लो एक हप्तामा नेपालमा ३५ जनमा कोरोना संक्रमण पुष्टि भएको बताए । सरकारले कोभिड–१९ को जोखिमलाई मध्यनजर गरी १७ वटा सीमा नाकामा रहेका हेल्थ डेस्कमा कोभिड–१९ को निगरानीलाई थप प्रभावकारी बनाएको बताए ।
प्रवक्ता बुढाथोकीले कोशी प्रदेशमा पशुपतिनगर हेल्थ डेस्क, मेची हेल्थ डेस्क, रानी हेल्थ डेस्क, मधेस प्रदेशमा मदर हेल्थ डेस्क, बिर्तामोड, गौर हेल्थ डेस्क, इनरुवा वीरगञ्ज हेल्थ डेस्क, लुम्बिनीमा गलैया हेल्थ डेस्क, कृष्णनगर हेल्थ डेस्क, जमुना हेल्थ डेस्क, गण्डकीमा त्रिवेणी हेल्थ डेस्क, सुदूरपश्चिम प्रदेशमा त्रिनगर हेल्थ डेस्क, गड्डाचौकी हेल्थ डेस्क, झुलाघाट हेल्थ डेस्क, कुलाघाट हेल्थ डेस्क, टिकापुर हेल्थ डेस्क र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हवाई नाका गरी १७ वटा नाकाबाट निगरानी भइरहेको बताए ।
सत्यपाटी संवाददाता । काठमाडौं