सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा ४४ प्रतिशत रोपाइँ सकियो

बाँके जिल्लामा ४४ प्रतिशत रोपाइँ भएको छ । पानीको अभावले असार १५ सम्म ११ प्रतिशत मात्र रोपाइँ भएको यो जिल्लामा केही दिन निरन्तर वर्षा भएपछि हालसम्म ४४.६ प्रतिशत रोपाइँ भइसकेको कृषि ज्ञान केन्द्र नेपालगन्ज बाँकेले जनाएको छ ।

केन्द्रका अनुसार असार १५ गते धान दिवस मनाउँदासम्म जिल्लामा पानी नपरेकोले अधिकांश किसानले रोपाइँ सुरु गर्न पाएका थिएनन् । पानी अभावले ढिलै सुरु भए पनि जिल्लामा धान उत्पादन हुने सबै ठाउँमा रोपाइँ तीव्र गतिमा भइरहेकोले यस वर्ष उत्पादन समेत राम्रो हुने आशा गरिएको छ ।

कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्राविधिक अधिकृत खडक बस्नेतले सिक्टा सिँचाइ आयोजनाका कारण राप्तीसोनारी, कोहलपुर र बैजनाथमा रोपाइँ सबैभन्दा बढी भएको बताए । सबैभन्दा कम रोपाइँ जानकी गाउँपालिकामा भएको पाइएको छ ।

कृषि ज्ञान केन्द्र बाँकेले यस वर्ष ढिला गरेर रोपाइँ सुरु भएपनि बाढी र डुबान भएन भने विगत भन्दा राम्रो उत्पादन हुने सम्भावना रहेको जनाएको छ । बाँकेमा धान रोपाइँ हुने कूल ३६ हजार ५०० हेक्टर खेतीयोग्य जग्गा छ । गत वर्ष पनि सोही क्षेत्रफल खेतमा धानखेती गरिएको थियो । अहिले पनि सोही क्षेत्रफलमा धानखेतीका लागि रोपाइँ भइरहेको छ ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार १७:१२