सूचनाको शक्ति - The Power Of Information

        

यस वर्ष ६० हजारभन्दा बढीमा ‘डेँगु संक्रमण’ हुने आँकलन

यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने आँकलन गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी गराएको हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै महाशाखाको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेँगु फैलने समय आएकोले जति बेला पनि जुनसुकै ठाउँमा डेँगु संक्रमण तीब्र गतिमा फैलिने हुँदा सचेत हुन आग्रह गरे ।

उनकाअनुसार साउनदेखि कात्तिक अन्तिमसम्म अत्यधिक मात्रमा डेँगु संक्रमण बढ्ने उच्च जोखिम छ । उनले हालसम्म ७३ जिल्लाबाट १ हजार ६ सयको हारहारीमा डेँगु संक्रमण पुष्टि भएको बताए । उनले बिरामीमा लक्षण नदेखिने, डेँगु परीक्षण नगर्ने र परीक्षण भएपनि रिपोर्ट नदिने कारणले डेँगु संक्रमणको तथ्याङ्क कम देखिएको बताए ।

उनले डेँगु संक्रमण बढ्ने अनुमान गरी आवयक कार्ययोजना बनाई कार्यान्वयनको चरणमा गइसकेको समेत बताए । उनले डेँगु नियन्त्रणका लागि सबैभन्दा ठूलो भुमिका स्थानीय तहको भएको उल्लेख गर्दै स्थानीय तहहरूसँग समेत आवश्यक समन्वय र सहकार्य भइरहेको बताए ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार १५:३३