बाँकेको नरैनापुर गाउँपालिका–६ र राप्तीसोनारी गाउँपालिका–७ को बिचमा पर्ने खल्ला झगडियामा राप्ती नदीले कटान तीव्र पारेको छ । पहाडी जिल्लाहरूमा वर्षा निरन्तर भइरहेकाले राप्ती नदीमा पानीको बहाब बढ्दै जाँदा खल्ला झगडियामा कटान रोक्न निर्माण गरिएको बाँसको अस्थायी तटबन्धसमेत बगाउने अवस्था भएपछि डुबानको त्रास बढेको हो ।
कटान रोक्न निर्माण गरिएको बाँसको अस्थायी तटबन्ध बगाउँदै नदी गाउँतिर तेर्सिन सक्ने जनाउँदै नरैनापुर गाउँपालिकाका अध्यक्ष सैयद इस्तियाक अहमद शाहले यसबाट नरैनापुर र राप्तीसोनारीका आधा दर्जनभन्दा बढी गाउँका करिब ६० हजार बासिन्दा डुबान र बाढीको उच्च जोखिममा परेको बताए ।
उनले हालको अविरल वर्षाका कारण नदीले बाँसको तटबन्ध बगाएर कटान बढाउँदै खेतबारी र बस्तीमै पस्ने खतरा बढेको बताए । अध्यक्ष शाहले भने, ‘राप्ती नदीले कटान गर्दै धार नै परिवर्तन गर्न सक्ने जोखिम छ, त्यसैले तत्काल स्थायी तटबन्ध निर्माणको काम सुरु गर्नु आवश्यक छ । मैले यसका लागि निरन्तर पहल गरिरहेको छु ।’
अध्यक्ष शाहले नदी नियन्त्रणका लागि ‘जनताको तटबन्ध कार्यक्रम’का कार्यालय प्रमुखसहितको टोलीले स्थलगत निरीक्षण गरेको जानकारी दिए । खल्ला झगडियाका स्थानीय अरुण यादवले दुई वर्षअघिको बाढीले भत्काएको तटबन्ध अझै पुनर्निर्माण नगरिँदा राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका देउपुरा, पिप्रहवा, खल्ला झगडिया, गेदुवा, गङ्गापुर, सोनवर्षा खुदरबेटवा र कडुवा लगायत गाउँका ६० हजार जनसङ्ख्या बाढीको अत्यधिक जोखिममा रहेको बताए ।
उनले अहिले नै नदीले बाँसको अस्थायी तटबन्ध भत्काउन थालेकाले ठुलो पानी परेमा राप्ती नदीमा आउने बाढी गाउँबस्तीतिर पस्ने निश्चित देखिएको बताए । राप्ती नदीको बहाब उच्च भएको र अस्थायी तटबन्ध कमजोर बन्दै जाँदा नदी गाउँतर्फ पस्ने अवस्था बढ्दै गएको अधिकांश स्थानीयले जनाएका छन् । उनीहरूले तत्काल स्थायी तटबन्ध निर्माणको माग गर्दै आफूहरू बाढी र डुबानको त्रासले रातभर जाग्राम बस्न बाध्य रहेको बताएका छन् ।
राप्ती नदीको कटान र बाँसको तटबन्धको अवस्था बुझ्न बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद घर्तीमगर, सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक शोभाकान्त खनाल, नेपाली कांग्रेस बाँके क्षेत्र नं.१ का सभापति पोषण केसी लगायतले स्थलगत निरीक्षण गरी सावधानी अपनाउन स्थानीयसँग अपिल गरेका छन् ।
सत्यपाटी