बाँकेको सबैभन्दा पिछडिएको र स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको नरैनापुर गाउँपालिकाका स्थानीय बासिन्दा अझै पनि स्तरीय स्वास्थ्य सेवाको पहुँचबाट टाढै छन् । लामो समयपछि नरैनापुरमा सडक र विद्युत् पुगे पनि अझै स्तरीय अस्पताल र स्वास्थ्य संस्था नहुँदा त्यहाँका बासिन्दाले उपचारका लागि बेलाबेलामा हुने निशुल्क स्वास्थ्य शिविर कुर्नुपर्ने बाध्यता छ ।
सोही कारणले नेपाली सेनाको बज्रदल गणको पहलमा नरैनापुर गाउँपालिका–२, लक्ष्मणपुर स्वास्थ्य चौकी परिसरमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा उपचार गराउन आउनेहरू धेरै देखिए । शिविरमा ७११ जनाको उपचार गरिएको छ । गाउँपालिकामा ठुला अस्पताल र विशेषज्ञ सेवा नहुँदा विभिन्न रोग लागे पनि घरमै बस्न बाध्य छन् ।
स्थानीय ताज खाँले सेनाको निःशुल्क शिविर आएपछि उपचार सेवा पाएको बताए । शिविरमा उपचार गराउन आएका अधिकांशको धारणा ताज खाँकै जस्तो थियो । राज्यको सेवाको पहुँच अभाव, स्वास्थ्य सुविधाको न्यूनता र औपचारिक सेवामा पहुँच नपुगेका नागरिकहरूलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
बज्रदल गणका प्रमुख सेनानी रविन श्रेष्ठले शिविरबाट महिला, पुरुष र बालबालिका गरी ७११ जना स्थानीयवासी प्रत्यक्ष रूपमा लाभान्वित भएको बताए । बज्रदल गणका अनुसार स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरिएका सेवाग्राहीहरूमध्ये २५९ जना महिला, २२६ जना पुरुष र २२५ जना बालबालिका रहेका थिए ।
शिविरमा सैनिक अस्पताल नेपालगन्जका प्रमुख सेनानी डा.मोहित थापा, गैरसैनिक चिकित्सक फिजिसियन, बालरोग, छाला तथा यौनरोग, प्रसूति तथा स्त्रीरोग, डेन्टल, नाक, कान, घाँटी तथा अन्य विभागका गरी ११ जना विशेषज्ञहरूले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । श्री सैनिक अस्पताल नेपालगन्जका तीन जना चिकित्सक–फिजिसियन, नसा तथा हाडजोर्नी, र डेन्टल विशेषज्ञहरूले समेत बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका थिए ।
स्वास्थ्य शिविरको समापनमा नेपाली सेनाको श्री नं.४ बाहिनी अड्डाका निमित्त बाहिनीपति महासेनानी प्रकाश थापाले शिविर सञ्चालनमा प्रत्यक्ष सहयोग गर्ने विभिन्न अस्पताल तथा संस्थाका विशेषज्ञ चिकित्सकहरूलाई प्रशंसा पत्र प्रदान गर्दै आभार व्यक्त गरे । स्वास्थ्य शिविरले सीमावर्ती गाउँका स्थानीयमा नेपाली सेनाप्रति विश्वास, सम्मान र सकारात्मक भावनाको विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बज्रदल गणका प्रमुख सेनानी श्रेष्ठले बताए ।
नरैनापुरमा श्री सैनिक अस्पताल नेपालगन्ज, नरैनापुर गाउँपालिका, स्वास्थ्य कार्यालय बाँके, भेरी अस्पताल नेपालगन्ज, सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि, गुल्म अस्पताल नेपालगन्ज, एचसिआरसी अस्पताल र शाही डेन्टल क्लिनिकको संयुक्त सहभागितामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
सत्यपाटी संवाददाता । बाँके