पोखरा महानगरपालिका–२८ काफलघारीका कृषक बाँदरको बढ्दो समस्यालाई दृष्टिगत गर्दै कागुनो खेतीतर्फ आकर्षित बनेका छन् । बाँदरले बर्सेनि बालीनाली खाइदिने तथा नष्ट गरिदिने भएपछि २०७५ सालदेखि कागुनो खेती गर्न लागेका यहाँका स्थानीय अहिले भने सामूहिक रुपमा नै यस खेतीतर्फ आकर्षित बनेका हुन् ।
अन्य खेतीका तुलनामा कागुनो खेती बाँदरले कम खाने भएका कारण आफूहरू यसतर्फ लागेको काफलघारी सामुदायिक विकास संस्था आमा समूहकी अध्यक्ष अम्बिका भण्डारीले जानकारी दिइन् । उनका अनुसार पछिल्ला वर्षमा काफलघारी क्षेत्रमा ६० रोपनीभन्दा बढी क्षेत्रफलमा कागुनो खेती हुने गरेको छ ।
परापूर्वकालदेखि विशेषतः नेपालको पहाडी क्षेत्रमा कागुनोको खेती गरिँदै आइएको छ । सिँचाइको सुविधा नभएको जग्गामा पनि उत्पादन हुने यो खेती कोदोबाली अन्तर्गत पर्दछ । बहुपोषणयुक्त खाद्यान्नका रुपमा रहेको यस अन्नमा प्रोटिन, आइरन तथा क्याल्सियमजस्ता तत्व पाइन्छन् । ठोस फाइबर हुने भएकाले यसका परिकार खाँदा पाचन क्रिया सहज हुन्छ ।
मधुमेहका रोगीहरूका लागि यो बढी स्वस्थकर मानिन्छ । सिँचाइ बिना पनि राम्रो उत्पादन हुने र बाँदरले कम खाने भएकाले पहाडी भूभागमा यसको खेतीको धेरै सम्भावना रहेको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । कागुनो खेतीतर्फ कृषकहरूको आकर्षणलाई दृष्टिगत गर्दै महानगरपालिकाले यसको न्यूनतम समर्थन मूल्य प्रतिकिलो १२० निर्धारण गरिएको उनले बताए ।
सत्यपाटी संवाददाता । गण्डकी