म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा एक दशकअघि परीक्षणका रुपमा गरिएको किवीखेती अहिले पकेट क्षेत्रको रुपमा विस्तार भएको छ । विसं २०७२ मा पदमबहादुर पुन, लक्षु पुन र पृथ्वीप्रसाद पुनले काठमाडौंबाट ५० बोट किवीका बिरुवा ल्याएर परीक्षणका रुपमा खेती गरेका थिए । तत्कालीन समयमा लगाएका बोटले ६ वर्षपछि फल दिन थालेपछि स्थानीय किवीखेतीमा आकर्षित भएका हुन् ।
विसं २०७४ मा वडा कार्यालयले ‘एक घर पाँच किवी’का बिरुवा लगाउने अभियान सञ्चालन गरेपछि वडामा किवीखेतीको लहर चलेको थियो । किवीखेती सुरु भएको एक दशकमा वडामा करिब चारसय रोपनीमा किवीखेती विस्तार भएको छ । भकिम्ली, चिनाखेत, डाँडाखानी, छाप, सिम, मट्केना, भुकभुके, डोले, मुसुङ गाउँमा किवीको व्यावसायिक खेती विस्तार भएको वडाध्यक्ष पदमबहादुर पुनले बताए ।
उनका अनुसार, भकिम्लीमा अहिले कृषकहरुले पाँच हजारभन्दा बढी किवीका बिरुवा लगाएका छन् । ‘किवीलाई स्थानीयले प्रमुख खेतीकै रुपमा अघि बढाएका छन्, वडा र नगरपालिकामार्फत किसानलाई किवीका बिरुवा, पोल, तार र सिँचाइमा अनुदान उपलब्ध हुँदै आएको छ, खेतीयोग्य जमिनमा खाद्यबालीको विकल्पमा किवीखेती विस्तार गर्ने अभियान नै चलेको छ,’ वडाध्यक्ष पुनले भने । वडाभित्र सामूहिक र व्यक्तिगत रुपमा फर्म दर्ता गरेर किसानहरु गाउँलाई किवी गाउँको रुपमा विकास गर्ने प्रयासमा लागि परेका छन् ।
भकिम्लीमा बेलढुंगा किसान समूहले मात्रै एक हजार दुईसय वटा किवीका बोट लगाएको छ । किवीखेतीको अगुवा किसानको रुपमा परिचित लालबहादुर पुनले ३००, लक्षु पुनले २५०, लालबहादुर घर्तीले २५० बोट किवी लगाएका छन् । गाउँका युवाहरुले परम्परागत कोदो, मकै फल्ने बारीमा समेत किवीखेती सुरु गरेका छन् । वडामा हाल ५० भन्दा बढी किसान किवीखेतीमा छन् ।
किवीखेतीको लहर चलेपछि भकिम्लीमा किवी पकेट क्षेत्र विस्तार गरिएको बेनी नगरपालिकाका कृषि अधिकृत आकृति ढुंगानाले बताइन् । चालु आर्थिक वर्ष २०८१–०८२ मा नगरपालिकाबाट विनियोजन भएको १२ लाख रूपैयाँ बजेटलाई कृषकको ५० प्रतिशत लागत साझेदारीमा किवी पकेट क्षेत्र विस्तारमा परिचालन गरिएको कृषि अधिकृत ढुंगानाले बताइन् ।
‘विगतका वर्षमा यस क्षेत्रमा फलफूलखेती प्रवद्र्धन कार्यक्रममार्फत किवीखेती विस्तारमा नगरपालिकाले सघाएको थियो, यसवर्ष किवी पकेट क्षेत्र विस्तार कार्यक्रम नै सञ्चालन गरेका छौँ, नयाँ बगैँचा स्थापना र व्यवस्थापनमा नगरपालिका र कृषकको समेत गरी २४ लाखभन्दा बढी लगानीको काम गर्न सफल भएका छौँ, यसले सिंगो गाउँलाई किवीमय बनाउन सहयोग पुगेको छ,’ कृषि अधिकृत ढुंगानाले भनिन् ।
किवी पकेट क्षेत्र कार्यक्रममार्फत यस वर्ष २५० वटा नयाँ बोट रोपिएको छ । किवीका बोटलाई फैलाउनका लागि ७०२ वटा पोलसहित तार टाँगिएको छ भने सिँचाइका लागि सात वटा ड्रम वितरण गर्नुका साथै सिँचाइ पाइपसमेत वितरण गरिएको छ । किवीखेती विस्तारमा वडा कार्यालय, बेनी नगरपालिकाका साथै कृषि ज्ञान केन्द्रले सहयोग गर्दै आएका छन् । किवी पकेट क्षेत्र विस्तारले किसानमा किवीखेती विस्तारमा उत्साह छाएको वडा सदस्यसमेत रहेका किसान रत्न जिसीले बताए ।
वैदेशिक रोजगारको विकल्पमा किवीखेती
बेनी नगरपालिका–३ भकिम्लीका युवा खिमबहादुर आले मगरले परम्परागत कोदो, मकैखेती हुँदै आएको आठ रोपनीमा किवीखेती सुरु गरेका छन् । दुई वर्षदेखि किवीखेतीमा लागेका मगरले ११० वटा बोट किवी लगाइसकेका छन् । भकिम्लीको टिम्मरेडाँडामा रहेको बारीमा किवी लगाएका मगरले आयआर्जनका लागि वैदेशिक रोजगारीमा जानुभन्दा आफ्नै गाउँमा व्यावसायिक किवी खेतीलाई रोजेको बताए ।
‘पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मान्यतालाई त्यागेर कृषि कर्ममा लागेको हुँ, आफ्नै गाउँको माटोमा पसिना बगाएर स्वरोगजार बन्ने मेरो सपना छ, अझै दुई रोपनी बारीमा किवी विस्तार गर्ने योजना बनाएको छु,’ उनले भने । मगरले यसवर्ष मात्रै बेनी नगरपालिकाको ५० प्रतिशत अनुदान सहयोगमा दुईसय दुईवटा पोल निर्माण गगरेका छन् । किवीखेतीको विस्तार र बगैँचा व्यवस्थापनमा यसवर्ष मात्रै ६ लाख रूपैयाँ बराबरको काम गरेको उनले बताए ।
भकिम्लीको मुसुङमा वैदेशिक रोजगारी त्यागेर किवीखेतीमा लागेका किसान लालबहादुर घर्तीले सात रोपनीमा किवी लगाएका छन् । ‘रोजगारको सिलसिलामा करिब १० वर्ष ओमन र साउदीमा बिताएँ, त्यहाँ बस्दा पनि घर खर्च चलाउनबाहेक थप आर्थिक उन्नति गर्न सकिएन, त्यसपछि स्वदेश फर्किएर किवीखेतीमा लागेको हुँ,’ घर्तीले भने । विसं २०७५ मा वडा कार्यालयले किवीखेती सम्बन्धी तालिम र अभिमुखीकरण सञ्चालन गरेपछि यहाँका धेरैजसो युवाहरु किवीको व्यावसायिक खेतीमा आबद्ध भएका छन् ।
घर्तीको किवी फर्मबाट उत्पादनसमेत सुरु भइसकेको छ । गतवर्ष मात्रै ८० हजार रूपैयाँको किवी बिक्री गरेका उनले १७ रोपनीमा किवीखेती विस्तार, बगैँचा स्थापना र व्यवस्थापनमा नगरपालिकाबाट पाएको सहयोगले आफूलाई उत्साहित बनाएको जानकारी दिए । पुनले ३०० वटा किवीका बिरुवा रोपेकोमा अहिले १७० वटा बोटले फल दिन सुरु गरिसकेको छ । गतवर्ष तीन लाख रूपैयाँको किवी बिक्री गरेका पुनले यसवर्ष बेनी नगरपालिकाको अनुदानमा ८४ वटा पोल र नयाँ बोटसमेत विस्तार गरेको जानकारी दिए ।
उचित बजार व्यवस्थापनको चुनौती
अनुकूल हावापानी र उचित खेतीयोग्य जमिनका कारण भकिम्लीमा किवीखेती विस्तार हुन थालेसँगै उचित बजार व्यवस्थापनको चुनौती देखिएको छ । गाउँमा उत्पादन भएको किवी स्थानीय बजारमा खपत हुनसक्ने अवस्था नभएपछि बागलुङ, पोखरा, काठमाडौंलगायतका बजारमा पठाउन थालिएको छ । कात्तिकदेखि पुससम्ममा किवीको बजारीकरण गरिन्छ । गत वर्ष यहाँका कृषकहरुले प्रतिकिलो १८० रूपैयाँमा किवी बिक्री गरेका थिए ।
सुरुवातका वर्षमा प्रतिकिलो २५० रूपैयाँसम्म मूल्य पाएका किसानले उत्पादन गरेको किवीको उत्पादन बढेसँगै उचित बजारको अभाव देखिन थालेको मुसुङका किसान लालबहादुर घर्तीले बताए । किवी पकेट क्षेत्रका रुपमा विकास भइरहेको भकिम्लीमा बेनी नगरपालिकाले नयाँ बिरुवा विस्तार, पोल बनाउने र तार तान्ने तथा बगैँचा व्यवस्थापन र फलको गुणस्तर कायम गराउन अनुदान, तालिम र परामर्श सेवा उपलब्ध गराएको बेनी नगरपालिकाका उपमेयर ज्योति लामिछानेले बताइन् ।
उनका अनुसार भकिम्लीको सिममा किवी भण्डारणका लागि गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र स्थानीयको लागत साझेदारीमा चिस्यान घर बनाउन सुरु गरिएको छ । नगरपालिकाले किसानलाई किवीबाट जुस बनाउने तालिम प्रदान गर्ने जनाएको छ । फलफूलको राजाको उपनामले परिचित किवी समुद्री सतहदेखि एक हजार पाँचसय मिटरको उचाइदेखि दुई हजार ५०० मिटरको उचाइसम्म खेती गरिन्छ । किवीको बोटमा तीन वर्षमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्छ । अमिलो र गुलियो स्वाद पाइने किवीलाई खेती गर्न प्रतिआठ वटा पोथी बिरुवा बराबर एक वटा भाले बिरुवा लगाउनुपर्छ । लहरा भएर फैलिने किवी एक रोपनीमा १५ वटासम्म बिरुवा लगाउन सकिन्छ ।
सत्यपाटी