मनसुन सुरु भएसँगै राप्ती नदीको तटीय क्षेत्रका बासिन्दालाई प्राकृतिक विपद्बाट बचाउन नरैनापुरका चार ठाउँमा बाढी सम्बन्धी सूचना दिने साइरन जडान गरिएको छ । नरैनापुर वडा नं ५ को मटेहिया, वडा नं ६ को भगवानपुर, सोनवर्षा र गङ्गापुरमा साइरन जडान भएको हो ।
नरैनापुर गाउँपालिकाका विपद शाखा प्रमुख एवम् सहायक प्रशासकीय अधिकृत भरत महतोका अनुसार स्वचालित उक्त यन्त्रले राप्ती नदीमा खतराको सतह पार गरेको सङ्केत गर्नासाथ साइरन बज्न थाल्ने छन् । साइरन नरैनापुरमा सुनिने गरी राखिएको छ ।
साइरनसँगै खतराको सङ्केतको सूचना मोबाइल एसएमएसबाट पनि जाने प्रबन्ध गरिएको महतोले जानकारी दिए । बाढीले सबैभन्दा बढी नरैनापुर गाउँपालिका–५ र ६ मा क्षति पुर्याउँदै आएको जनाउँदै गाउँपालिकाले पटक–पटक बाढी आउँदा लाखौँको धनमाल गुमाउन बाध्य नरैनापुरका बासिन्दा अब विपद् आउनु पूर्व सूचना पाउने भएपछि ढुक्क भएको जनाएको छ ।
नरैनापुर गाउँपालिका र सामाजिक विकास मञ्च (एसडिएफ) बाँकेको सहकार्यमा करिब २८ लाख रुपैयाँको लागतमा चार ठाउँमा साइरन जडान गरेपछि स्थानीयबासी विपदबाट जोगिने आशमा खुसी भएको गाउँपालिकाका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवले बताए ।
उनका अनुसार २०७१ सालमा आएको बाढीले राप्ती नदी किनारका कैयौँ स्थानीयलाई घरबार विहीन बनाएको थियो । बाढीले क्षतिग्रस्त भएपछि लामो समयसम्म गाउँले पालमुनि बस्न बाध्य थिए । सामाजिक विकास मञ्च (एसडिएफ) बाँकेका अध्यक्ष चम्पसिह थापा मगरले साइरन जडानपछि वर्षाको समयमा गाउँले ढुक्कसँग निदाउन पाउने भएको बताए ।
सत्यपाटी संवाददाता । बाँके