सूचनाको शक्ति - The Power Of Information

        

कुखुराको मासु खाँदा एकै टोलका १३ जना बिरामी

भारतबाट ल्याइएको कुखुराको मासु खाँदा बाँकेको खजुरा गाउँपालिका–४, सिर्जना टोलका १३ जना बिरामी परेका छन् । आफन्तको घरमा पाहुना बनेर गएका उनीहरूले कुखुराको मासु, पुलाउ र राजमा खाएकोमा कुखुराको मासु खानेहरु बिरामी परेको जानकारी प्राप्त भएको वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर रोका क्षेत्रीले बताए ।

भारतीय सीमा क्षेत्र नजिकबाट ल्याएको कुखुराको मासु खाँदा १३ जना बिरामी परेको जनाइएको वडाध्यक्ष रोका क्षेत्रीले बताए । खजुरा–४ एफ गाउँमा आफन्तको घरमा भात खुवाई कार्यक्रममा सहभागी भई घर आएका उनीहरु बिरामी परेका हुन् । एकै परिवारका ७ जनासहित १३ जना बिरामी परेको खजुरा–४ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज गेहेन्द्र जैसीले बताए ।

बिरामी हुनेमा बालबालिका पनि रहेको जनाउँदै जैसीले उनीहरूमा झाडापखाला, उल्टी, ज्वरो आउने, रिँगटा लाग्ने समस्या देखिएको बताए । उनले पुलाउ, तरकारी, अचार खाएकाहरुलाई केही नभएको र कुखुराको मासु खानेहरु बिरामी परेको जनाए । उनले भात खुवाईमा गएका ६ जना र घरको लागि पोको बनाएर ल्याएको खाना खाएर थप ७ जना बिरामी परेको जनाए ।

भात खुवाईमा सहभागी भएका अन्य अरु थप सामान्य बिरामी भएको र उपचारपछि निको भएर घर गइसकेको खजुरा–४ आधारभूत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज जैसीले बताए । बिरामीहरुको उपचार बाँके सिटी अस्पताल खजुरामा भइरहेको छ । खानाको कारण बिरामी परेका बिरामीलाई भेट्न अस्पताल पुगेका खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले घटनाबारे आवश्यक अनुसन्धान गर्न सम्बन्धित निकायमा अनुरोध गरेका छन् ।

बिरामीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन खजुरा गाउँपालिकाका अध्यक्षसँगै उपाध्यक्ष मन्जु मल्ल, वडा नम्बर–४ का वडाध्यक्ष टेकबहादुर रोकाक्षेत्री, वडा नम्बर ५ का वडाध्यक्ष गरिबे शेख, सामाजिक विकास संयोजक कृष्णकुमारी पोखरेल, वडा सदस्य रितु गिरी, स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी ओली लगायतको टोली अस्पताल पुगेको थियो ।

कुखुराको मासु खाएर बिरामी हुनेहरुमा वडा ४ का रामबहादुर बिष्ट, मिना बुढा, कुमारी मगर, रियान बिष्ट, आयुषा बिष्ट, हिमराज बिष्ट, मनोज बिष्ट, सीता बुढा क्षेत्री, लीलावती बिष्ट, खुसी बिष्ट लगायत रहेका छन् ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार ०८:५३