सूचनाको शक्ति - The Power Of Information

        

देशभर मनसुनी वायुको प्रभाव, पाँच वटा प्रदेशमा धेरै भारी वर्षा

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग लगायत बाँकी प्रदेशमा साधरणतया बदली भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सात वटै प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ । हल्कादेखि भारी वर्षासम्मको सम्भावना छ । पाँच वटा प्रदेशमा धेरै भारी वर्षाको पनि सम्भावना छ । दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । महाशाखाले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार ०८:०६